जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको भवन निर्माण शुरु गरिएको छ।
स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाको रु ६९ लाख लगानीमा पाँच भवन निर्माणको काम थालिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए।
विसं २०६६ मा स्थापना गरिएको सुरक्षा बेसक्याम्प भवन अभावमा अन्यत्र सर्ने तयारी गरेपछि गाउँपालिकाको लगानीमा भवन निर्माणको काम थालिएको हो।
स्थानीय नरमाया खड्काले सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्पका लागि साढे तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराए। अहिले बेसक्याम्पका लागि ११ रोपनी जग्गा निःशुल्क प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
दश वर्षअघिदेखि सञ्चालनमा रहेको सुरक्षा बेसक्याम्प भवन अभावमा हट्ने सङ्केत पाएपछि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएको अध्यक्ष राईको भनाई छ।
निर्माणाधीन बेसक्याम्पको भवनमा कार्यालय, भान्छाघर, कार्यालय प्रमुखको आवासगृह तथा कार्यालय, सुरक्षाचौकी, शौचालय तथा नुहाउने ठाउँलगायत छुट्टाछुट्टै निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष उमेश कार्कीले बताए।
१० स्थानीय तहमध्ये भौतिक पूर्वाधार निर्माणमा पछाडि रहेको जन्तेढुङ्गामा पछिल्लो समय धमाधम विकास निर्माणको काम हुन थालेपछि स्थानीयवासीसमेत हर्षित भएका छन्।