नेकपा केन्द्रीय बैठकमा समूह नेताले प्रतिवेदन पेश गर्ने क्रम जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा शनिबार विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरिरहेका छन्। 

राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन्।
 
समूह–३ का नेता खिमलाल भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता ठाकुर गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेश गरिसकेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेको उनको भनाई छ।

 यसैगरी समूह–१ बाट आनन्द पोखरेल, समूह–८ का नेता बिन्दा पाण्डे, समूह–१० का नेता महेश बस्नेत, समूह–११ का नेता राजेन्द्र राई, समूह–१४ का सुरेन्द्रकुमार कार्की र समूह–१५ का नेता हिमाल शर्माले पनि प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। 

विभिन्न १५ समूहमा विभाजित केन्द्रीय सदस्यले बिहीबार राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गरेर शुक्रबारदेखि बैठकमा आफ्नो प्रतिवेदन पेश गरिरहेका छन्।
 
शुक्रबार समूह–२ बाट कमला रोका, समूह–६ बाट दीनानाथ शर्मा, समूह–१३ का नेता लेखनाथ न्यौपाने र समूह–९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गरेका थिए। समूह नेताको प्रतिवेदन पेश भइसकेपश्च्यात आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको जनाएको छ।

प्रकाशित मिति: : 2020-02-02 02:22:36

प्रतिकृया दिनुहोस्