'हामी कहाँ जाने' - उसले ओठ लेप्य्राउँदै बोली। 'थाहा छैन' - मैले हास्दै भनेँ। मैले बेअर्थको सबालको बेरंगको जवाफ फर्काएँ। उसले यस्तै बेपर्वाह जवाफ खोजेकी हो, म किन सिधा सपाट उत्तर दिई बसूँ। 'ए ए अलिक विस्तारै' म अलिक जोडले बोलेँ। उसले धन्न रेलिङमा टाउको टेकिन। हरे! यो केटी अलिक सम्हालियोस्।
'हैन म ठिक छु' - उसले लर्बराउदै निर्भयका साथ भनी। 'तर नि मैले आज अति धेरै पिएँ, यति धेरै कहिल्यै पिएको थिइनँ' - केटी फेरि फत्फताई। 'खै! के विश्वास मान्नु जड्याहा' - मलाई जिस्किन मन लाग्यो। 'आफू नि आफू' - उसले मतिर देखाउँदै बोली। 'मलाई त लागेको छैन।' 'अनि ट्यान्करलाई बोत्तलले के पुग्थ्यो?' 'है' - मैले नस्वीकारीकनै स्वीकारेको जवाफ फर्काएँ। उसले 'है' भन्दाबित्तिकै बुझ्छे मैले उसको कुराको वास्ता गरिनँ। 'ह्या छोड्दिनुस, आज मलाई खुब पिउन मन थ्यो।'