संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्। झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि राणा निलम्बनमा परेका हुन्।
ती महिलाले कात्तिकमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्। प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो। प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले उनलाई बिहीबार निलम्बन गरेको हाे।
राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्।
जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ। तर, सुनसरी प्रहरीले भने आधिकारिक रूपमा यसबारे जानकारी दिएको छैन।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको छ।