रुपमति बलात्कार हत्या प्रकरणः घटनामा संलग्नलाई बाँचुनजेल कैद

बलात्कारपछि बालिकाको हत्या गरिएको घटनामा संलग्न दुई जनालाई जिल्ला अदालत मोरङले बाँचुनजेलका लागि कैद सजायको फैसला सुनाएको छ। 

विराटनगर महानगरपालिका ८ की ११ वर्षीया बालिका गुडिया भनिने रुपमती दासको २०७५ साल माघ १२ गतेराति बलात्कारपछि हत्या गरिएको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले बिहीबार घटनामा संलग्न २५ वर्षीय भुट्टु भनिने अब्बास अन्सारी र १९ वर्षीय चन्दु महतोलाई जीवन भर कैद सजायको फैसला सुनाएको हो।

फौजदारी अपराधसंहिता २०७४ को दफा ४१ र दफा १७७ को उपदफा २ अनुसार भएको फैसलाबाट उनीहरु जीवित रहेसम्म जेलमा बस्नु पर्नेअदालतका सूचना अधिकारी युवराज पौडेलले बताए। 

घटनामा संलग्न दुवै जना बालिकाका छिमेकी हुन्। बालिकाका परिवारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि अदालतले गरेको छ। उनीहरुले छिमेकीका घरमा टिभी हेर्न जाँदै गरेको अवस्थामा बालिकालाई २०७५ साल माघ १२ गते साँझ अपहरणपछि केही पर लग्दै मुख थुनेर बलात्कारगरेको अनुसन्धानबाट खुलेको थियो।

बेहोस भएकी उनलाई दुवै जना मिलेर हत्या गरेपछि मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको सीमाना भएर बग्ने सिंघीया खोलामा शव फ्यालिदिएका थिए। 

शव बगिरहेको खोलाको पानी भित्र भोलिपल्ट नांगो अवस्थामा फेला परेको थियो। घटना भएको १७ दिनपछि अभियुक्त पत्ता लगाउँदै प्रहरीले पक्राउ गरेर जवरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो। 
 

प्रकाशित मिति: : 2020-02-01 00:32:28

प्रतिकृया दिनुहोस्