भारतीय गाँजा व्यापारीलाई समात्न मकवानपुर प्रहरीले गाेली चलायाे

मकवानपुर प्रहरीले गोली हानेर ३२ किलो गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मुजफरपुरका ३५ वर्षीय सञ्जित पासवान, अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेका छन्। 

मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार बिआर ०६ जे ४४५८ नम्बरको भारतीय कारमा सवार उनीहरुलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान साढे १२ बजे गोली चलाएको हो।

गाँजा तस्करीको सूचना पाएपछि खटिएको  प्रहरी टोलीले मनहरीबाट हेटौंडा जाँदै गरेको कार भैवडाँडातिर भाग्न खोज्दा दुई राउन्ड गोली चलाइएको राठौरले बताए। एक राउन्ड हवाई फायर गर्दा नरोकिएपछि प्रहरीले कारको टायरमा गोली हानेको थियो। 

उक्त कारको सिटमुनि फल्स बटम बनाएर १६ पोकामा ३२ किलो गाँजा फेला परेको उनले बताए। 

प्रकाशित मिति: : 2020-01-30 01:11:02

प्रतिकृया दिनुहोस्