सर्वाधिक पुरस्कार राशिको विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुँदै

सर्वाधिक पुरस्कार राशीसहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुने भएको छ। सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्ने प्रतियोगिताको विजेता कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउनेछन्।

यो राशी कविता प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको संस्थाको अध्यक्ष कृष्ण बिश्वकर्माले बताए।

प्रतिष्ठानले विश्वब्यापी नेपाली कविता प्रतियोगिताको तयारी पूरा गरि देश बिदेशमा रहने कविहरुबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ। कविता फागुन १ गतेसम्ममा संस्थाको इमेल sahityapratishthan@gmail.com मा पठाउनुपर्नेछ।

प्रतियोगिताको लागि बढीमा एक सय पचास शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन सकिने संस्थाले जनाएको छ।  कविता नेपाली युनिकोडमा मात्र लेखी पठाउनुपर्नेछ।

कविता प्रतियोगिताको नतिजा २०७७ वैशाख १ गते घोषणा गरिने र उपयुक्त समय मिलाएर नेपालमा विशेष समारोह गरिने र सोही कार्यक्रममा सर्वोत्कृष्ट एकलाई नगद पुरस्कारकोसहित सम्मान र अन्य उत्कृष्ट दस कविहरुलाई प्रमाणपत्र सहित सम्मान गरिने संस्थाले जनाएको छ।

प्रतियोगिताका उत्कृष्ट दससहित देश विदेशका एकाउन्न कविका कविता समेटेर संस्थाले कविता संग्रहसमेत प्रकाशित गर्ने भएको छ।

प्रतियोगिले कवितामा कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल पार्ने खालका विचार र अश्लील शब्दहरुको प्रयोग गर्न पाइनेछैन।

अंग्रेजी र नेपाल भित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताले पनि प्रतियोगितामा प्रवेश पाउनेछन्। तर, उक्त कविताहरूका नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनुपर्ने बताईएको छ।

रचनाका साथमा कविको छोटो परिचय, पासपोर्ट साईजको फोटो, सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेलमा पठाउनुपर्नेछ।

कविता पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित-प्रसारित नभएको र साथै कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने पनि सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रतियोगिताको प्रचार-प्रसार संयोजक अजित क्षेत्रीले बताए।

प्रतियोगिताले बिश्वभरी छरिएर रहेका नयाँ पुस्ताका कविहरुलाई थप उर्जा प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माले बताए।

प्रकाशित मिति: : 2020-01-26 22:18:00

प्रतिकृया दिनुहोस्