शेर्पा गाउँकी शेर्पिनी दिदी

प्रभा बराल

काठमाडौँ
तस्बिर : सेतोपाटी

असार २३ गतेदेखि लगातार हिँडेको आज पाँच दिन भयो। हिँड्दाहिँड्दै हिँड्ने रहर नै पुग्ने हो कि जस्तो। आखिर केका लागि यो दुःख भनेजस्तो पनि लाग्छ। फेरि गाउँ, जङ्गल, नदी र पहाड हाम्रो आगमनले नै रमाएजस्तो लाग्छ। सम्झनामा कैयौं तस्वीर खिचिन्छन्। यिनै सम्झना क्यामेराको लेन्समा कैद गर्दै हामी ओरालिन्छौं। ओरालोमा झर्दा थर्केका हाम्रा गोडा लुला न लुला भएका छन्। ओरालो झर्न झन् गाह्रो हुँदोरहेछ। चार दिनसम्म उकालो उक्लेका हाम्रा गोडा अब ओरालोतिर झर्न मानिरहेका छैनन्।

केन्जिन गुम्बादेखि लामा होटलसम्म आउँदा कति थाकियो, मानसिक रूपमा कति गलियो कुनै लेखाजोखा नै छैन। हिजो राति बाह्र बजे गीता दिदीलाई अचानक चक्कर लागेपछि हामी सबै डरले एकै ठाउँमा डल्लो परेका थियौं। अब यो मध्यरातमा थप बिसन्चो भए के गर्ने? धन्न भगवान! हामीसँग भएकै औषधिले उहाँलाई सन्चो हुँदै आयो। लगभग चार हजार मिटर उचाइमा भएकोले पक्कै पनि उहाँलाई हाइ अल्टिच्यूटको असर परेको होला भन्ने लाग्यो। बडो मुश्किलले बिहानको पाँच बजायौं र लाङटाङतिर हान्नियौं।

प्रकाशित मिति: : 2020-01-26 06:38:25

प्रतिकृया दिनुहोस्