ती दिनहरु जुन बेला सञ्चारको बिकास भएको थिएन। औलामा संसार घुमाउने मोवायलहरु थिएनन्। दुनियाँ अर्कै थियो। मान्छेहरुले आइपरेका समस्या समाधान गर्ने जानेका थिए। जस्तो सुकै दुःख र कष्ठहरु पनि पार लगाउन सिकेका थिए। आफ्नै प्रणाली बनाएका थिए।
त्यस बखतको सञ्चारको काम गर्ने विद्यालाई ढोली विद्यामा समावेस गरिएको थियो। टाढाका बस्तीहरुमा रैबारे (खबर) माध्यमको रुपमा दमाहको प्रयोग गरिन्थ्यो। कुन बाजाको कुन धुनले कुन रैवारको संकेत दिन्छ त्यो कुरा दमाईहरुलाई थाहा हुन्थ्यो। मान्छे मर्यो। कुनै आपत आईलाग्यो। कुनै कामका लागि मान्छेहरुलाई सामुहिक खबर गर्नुपर्यो भने दमाईले दमाह बजाउँथे त्यसैबाट सन्देश आदान प्रदान हुन्थ्यो। त्यो प्रचलन कहिकतै केही बर्ष अघिसम्म कायमै थियो। र फाटफुट अझैपनि छ।जसको प्रयोग मोबायल चलाउन नजान्ने बुढापाका दमाईहरुले मात्रै गर्छन्।
ढोली विद्यालाई तल्ला जातीहरुको विद्या भनेर त्यसबखत हेला गरियो। सञ्चारक मात्रै नभएर दमाईहरु संस्कृतीका संरक्षक पनि थिए। जसले अनेक पौराणीक, देवताकालिन, युद्धकालिन धुनहरु जोगाएर राखे। र आजका दिनसम्म संस्कृतीले त्यही विशेषता बोकिरह्यो।
त्यो बेलाका मान्छेलले हेलागरेपनि आवस्यकता महसुस गरे। अज्ञानताले बिभेद अंगालेपनि सँधै एक भएर अगाडी बढे। संरक्षकहरुले पुर्खाको सम्पती सम्झिएर प्रयोगमा ल्याईरहे। तर हिजो जसोतसो युग गुज्रिएर यहाँ सम्म पुर्याईएको विद्याको महत्व अझैपनि बुझिएन। बिभिन्न चाडपर्व, बिवाह, धार्मिक कर्ममा बजाईने धुनहरु के हुन् यिनको धार्मिक, ऐतिहासिक र पौराणिक महत्व के छ भन्ने कुरा कसैको चासोको बिषय बन्न सकेन। यतीसम्म हेला गरियोकी लद्दु मानिएको विद्यार्थीलाई सराप्नु पर्यो भने “के स्कुल पड्डु है, ढोलीविद्या सिक्न जा,” भनेर उक्ति बनाईदिए।
स्कुले विद्यामा ढोलीविद्यालाई समावेस गर्नुपर्छ भन्ने कसैको बिचारमा रहेन। अहिलेको मानसिकता र चुनाबमुखी राजनितीले पहिचानलाई उत्खलन नगरी समाजमा जातीयता लाँदेर उल्टै नकारात्मक रंग छर्किदिए। कुनै विद्यालयहरुमा यस बिषयलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने सोचिएन। प्रदेशमा स्थापित बिश्वविद्यालयले समेत यसबारेमा सोच्न आवश्यक ठानेन। ठान्दैनन्।
पहाडका धेरै ठाउँहरुमा दमाई र दमाह बिना कुनै पनि शुभकार्य र चाडबाडको परिकल्पना समेत गर्न सकिदैन। अप्ठ्यारा कामहरु, कोल, घट्ट, पनाला अर्थात सार्वजनिक महत्वका जे सुकै सामानहरु ओसारपसार गर्दा सागामा काध थाप्नेहरुलाई साहस दिलाउन बाजागाजाका साथ काम गर्थे मान्छेहरु। अहिलेपनि त्यसकामले धेरै हदसम्म निरन्तरता पाउदै आएको छ। पछिल्लो समयमा त बिकास निर्माणका कामहरु। लघु जलबिधुतका सामान ओर्सान होस् या पुलपुलेसाका फलामे लहरा तान्न होस बाजागाजाका साथ काम सकाउँछन।
यसरी बिभिन्न चाडपर्व र अवसरहरुमा बजाइने बाजाका बेग्लै धुनहरु हुन्छन्। जस्ले हाम्रो लोक संस्कृतीको अभिन्न पाटो समालिएको छ। लोकधुनहरु गाउँ अनुसार ठाउँ अनुसार अनगन्ती छन्। चलनहरु भिन्नै छन्। सबै धुनको बिशेष प्रयोग हुदै आईरहेको छ। तर सबै बाजो बजाउन जान्ने ज्ञाता सबै दमाईहरु हुदैनन्। सबैले जान्दैनन्। जसले जानेका छन् ती मान्छेहरु कम मात्रामा छन्। बाजा हुनु र बाजालाई बजाउन जान्नु फरक कुरा हो। फेरी ती पुरातन धुन, जसलाई घाई भन्ने गरिन्छ त्यो पाटो झनै कठिन छ।
असारको रोपाईमा चाँचरी गाउँदा होस या कुनै अवसरमा हुड्केली लगाउँदा होस। गौरामा धमारी खेल्दा होस् या पुसमा भुवाचाल नान्दा होस्। मंसीरमा बर्यात हुँदा होस् या जाँतहरुमा चौलो खेल्दा होस्। यि सबै अवसरहरुमा दमाईले बजाउदै आएका बाजाहरुमा आफ्नै नियम र शुत्रहरु छन्। ती क्षणहरु जुन बाजा र बाधक बिना अपुरा र अधुरा जस्तै हुन्छन। सन्तान जन्मिएको दिनको बडाई देखी मान्छेको अन्तिम संस्कारका बेलाको शोकधुनसम्म तीनैबाजाले निकाल्ने अलग अलग धुनहरुको अलग अलग महत्व छ।
ढोली विद्यालाई सञ्चारको रुपमा प्रयोग गरिएको ईतिहास त सुदूर र मध्येपश्चिमका पहाडहरुमा मात्र नभएर काठमाडौंको हनुमान ढोकामा राखिएका नगराहरुबाट प्रमाणित छ। ती नगराहरु बिगुलको साथमा धरहराबाट बजाईन्थे। त्यसबेला पनि दरबारले नगराको प्रयोग मार्फत सुचना दिएको कुरा नर्कान सकिदैन। त्यस्तै नगरा पहिलेका अन्य राज्यहरुले पनि खबर आदान प्रदानकालागि प्रयोगमा ल्याउने गरेका थिए। हनुमान ढोकामा रहेका नगरा जस्तै ठुला नगरा भक्तपुर दरबारमा समेत देख्न सकिन्छ। यसबाट त्यस बखत सञ्चार माध्यमको रुपमा दमाह र नगराकै प्रयोग हुने गर्दथ्यो भन्नेमा शंका गर्न उपयुक्त ठहरिदैन।
कयौं यस्ता पर्वहरुपनि छन् जहाँ दमाईले पुरातन धुनमा बढाई नगरेसम्म कार्य सुभारम्भ समेत हुदैनन्। कयौं यस्ता बस्तीहरु छन जहाँ नगरा र दमाहका सयौ धुनहरु बेलामौकामा बजिरहन्छन्। त्यस्ता बाजाहरुमा युद्धकालिन र पौराणिक धुनहरु परापुर्वदेखि बज्दै आएका छन्। ती धुनहरु संरक्षणको जिम्मा पाएका अलमलमा परे। तर ती पियनेले लड्ने बित्तिकै लगाएछन् जुक्ति। त्यही पोजीसनमा दमाहमा गजो हिर्काउदै भनेछन् – ए हाई पणबाजो। (पण बाजो भन्नाले सुतीसुती बजाउने बाजो अर्थात धुन)। तब गोलो घेरामा नाचिरहको सबै दमाईहरुले पियने लडेकै पोजिसनमा लडेको अभिनय गरेछन र सुतीसुती बजाउन थालेछन्।
त्यो एक युग थियो। यतीसम्म चलाखी गर्न सक्ने मान्छेहरु थिए। समय र परिस्थीतीलाई चिनेर आफ्नो कला र सिपलाई पुस्तान्तर गरेका थिए। जस्तो सुकै कालखण्डहरुमा आफ्नो परम्परा र संस्कृतीलाई संरक्षण गरेका थिए।
जब जनयुद्ध सुरुभयो। सुदूरपश्चिमका लोकधुनहरुमा ठुलो क्षती पुग्न गयो। कयौं मान्छेहरुले त्यस अबधिमा बजाउन चाहेरपनि बजाउन सकेनन्। पहाड थर्किनेगरी बज्ने दमाह र नरसिंगाहरु घरभित्रै थन्किए। बजाउनु भनेको तल्लो जाती रहिरहनु हो भन्ने भ्रम फैलियो। कयौं गाउँहरुमा देउता पुजीएनन्। चाँडपर्वहरु मनाईएनन्। कयौं मान्छेहरु गाउँनै छोडेर हिंडे। ती बस्तीहरुमा अहिले देउताका भडारहरु छन्। त्यहाँ बाजाहरु छन। तर बाजा बजाउने मान्छेहरु छैनन्।
समयभन्दा चौगुना बढी आफै बद्लिए मान्छेहरु। समयसँगै भएको बिकासले मान्छेलाई आफ्नो पुरातन संस्कृती त्याग्न सिकाएको थिएन्। जे सिकाईदैन सबैभन्दा पहिले मान्छे त्यही सिक्दो रहेछ। आफ्नो बास्तबिक पहिचान गुमाएर अर्काको नक्कलको लेपमा घरसारिएर धेरै समय टिक्न सकिदैन भन्ने चेत गुमाउनु दुर्भाग्य हो।
ट्याम्को, दमाहा, नरसिंहा, सहनाई, ताल (झ्याली) भानु, ढोलक, हुड्को, भोकर आदी बाजाहरु संयुक्त रुपमा बजाईने गर्दछन। र यी बाजाहरुको भिन्नभिन्नै काम हुने गर्दछ। भिन्नै भुमिका रहन्छ। बाधकहरु बिषेश पहिरनमा सजिएर बजाउछन्। हिजो ठुलाठुला काटमार र युद्ध हुँदा होस् या उल्लासहरुमा होस्। एक गाउँको रैवार अर्को गाउँमा पुर्याउन होस् या सोह्र संस्कारहरुलाईमा पुर्णता दिन होस् ती बाजाहरु बजे। बजाउनेहरुले निसंकोच आफ्नो ठानेर बजाए।
बाजाहरुको बिशेषताहरुलाई पहिचान र संरक्षण गर्ने जिम्मा बजाउनेहरुको मात्रै होईन। सबै तह र बर्गले आफ्नो सम्झिएर लाग्नुपर्ने थियो। त्यो देखिदैन। जस्तै मान्छेहरु आधुनिक बन्दै छन्। आधुनिक तडकभडकका बाजाहरु उनीहरुको प्राथमिकतामा पर्न थालेका छन। घरभित्रै थन्किन थालेकाछन्। पुराना बाजाहरु र बिलिन हुदैछन ती बाजाबाट निस्किने धुनहरु।
मान्छेको प्रकृती अचम्मको छ। पहुँचमा रहुन्जेल आफूले केही जाने जस्तो ठानुन्जेल। सम्पन्नता र शक्तिको आडले आफूले गरेको सबै उपयुक्त ठान्दछ। ती मान्छेले गरेका कार्यको प्रभाव समाजमा रहन्छ। र त्यही बाटोमा समाज रुपान्तरण हुन थाल्दछ। त्यसबेला के पाईदैछ र के गुम्दैछ भन्ने कुराको अड्कल रहदैन। सबै मान्छेहरु केही नसोची होमा हो थप्दै जान्छन्।
जब अज्ञानबाट चेतमा फर्किन्छ मान्छे तब खोज्न तरखरिन्छ आफ्नो असली रुप। सम्झिन थाल्छ बिगतलाई। तर त्यसबेला समयले कयौ आत्माहरुलाई संसारबाट बिदाई गरिसक्छ। तीनैसँग हाम्रा आफ्ना हैसियतहरु बिलाई सकेका हुन्छन।संस्कारहरु हराईसकेका हुन्छन्। त्यसपछि पछुताउनु बाहेक केही रहदैन।
आधुनिकतालाई दोष थुपारेर आफुलाई अत्याधुनिक सम्झने मान्छेहरुकै कारण पुरातनदेखी बजाईने धेरै धुनहरु अहिले लोप हुने खतरामा छन्। धेरै बाजाहरु संरक्षणको अभाबमा भडारहरुमा थन्किएका छन्। हिजो हुलाक नहुँदा सञ्चारक बनेकाहरु आज आफ्नो योगदान बिर्सिन खोज्दैछन्। यो बेला आफ्नो पुर्खाको नासो र संस्कृतीको पाटोलाई बिर्सिने होईन। पहिचान जोगाउने बेला हो।
सञ्चारको माध्यम नहुदा माध्यम बनेका दमाई र बाजाहरु सञ्चारको जगतमा आईपुग्दा गुमनाम छन्। ती अनाम र गुमनाम मान्छेहरुले आफूलाई र आफ्नो कर्मलाई सबैभन्दा उत्कृष्ठ कर्म सम्झिनुपर्छ। जसबिना संस्कृतीको पाटो नै बिकलांग देखिन्छ। हाम्रो संस्कृती नै बिकलाङ्ग भएपछि हामी सपांग हुनुको के अर्थ रहन्छ? मान्छे उत्कृष्ठ र निकृष्ठ त जातले होईन कर्मले हुन्छ।