सिरहामा आगलागी हुँदा जलेर एकल महिलाको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा शुक्रबार बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ। अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु भएको र उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए।

सोही आगलागीमा परी घरमा रहेको फर्निचर, फ्रिज, खाद्यान्न लगायतका समानसमेत जलेर नष्ट हुँदा करिब रु दुई लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो।   
 

प्रकाशित मिति: : 2020-01-25 04:43:55

प्रतिकृया दिनुहोस्