विराटनगरको धार्मिक विद्यालयका प्रधानाध्यापकमाथि विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप

विराटनगरको एक धार्मिक विद्यालयका प्रधानाध्यापक (मोलवी) माथि आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। 

विराटनगर महानगरपालिका– ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मोलवी अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका दुई जना छात्रालाई यौन दुव्र्यवहारको आरोप लागेको हो। आरोपपछि उनी फरार छन्। मियाँले मंगलबार र बुधबार दुई छात्रालाई यौन दुव्र्यवहार गरेको जाहेरी परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए।

दुवै बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। उनलाई पक्राउ गर्न प्रहरी घरसम्म पुगे पनि फरार भएका कारण पक्राउ गर्न नसकिएको र खोजी तीव्र पारिएको डीएसपी थापाले बताए। जाहेरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ। 

आफ्नै कार्यकक्षमा बोलाएर बालिकामाथि दुव्र्यवहार गरेको भन्दै २०६४ सालबाट मदरसामा कुरान पढाइरहेका मियाँ विरुद्ध कारबाही हुनु पर्ने माग राखेर स्थानीय बासिन्दा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा जम्मा भएका थिए। मदरसामा ६ वर्षमाथि र १५ वर्ष मुनीका २० जना बालबालिका पढ्ने गरेको स्थानीयको भनाइ छ। 

प्रहरीका अनुसार सोमबार मोलवी सबै विद्यार्थीलाई गृहकार्य दिएका थिए। गृहकार्य चेकजाँचका लागि भन्दै उनले आफ्नो कार्यकक्षमा बोलाएर फरक–फरक दिन यौन दुव्र्यवहार गरेको बलात्कार प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी थापाको भनाइ छ। १३ वर्षीया बालिकाले प्रतिकार पनि गरेको खुलेको छ। घटना कसैलाई सुनाए बुबा–आमाको बद्नाम गर्ने धम्की दिएपछि बिहीबार बिहान बालिका मदरसा नगएको स्थानीयको भनाइ छ। 

घरबाट स्कुल पठाउन खोज्दा उनले घटना बारे सुनाएपछि स्थानीय र बालिकाका अभिभावक जिल्ला प्रहरी कार्यालय मोरङ आएका हुन्। सुरुमा १३ वर्षकी बालिकाका अभिभावकले जाहेरी दिएपछि १४ वर्षकी बालिकाका अभिभावकले पनि जाहेरी दिएका छन्। घटना बाहिर आए बद्नाम हुने डरले बसेकी बालिका साथीले जाहेरी दिएपछि आफूलाई पनि आँट आएको बताइन्। 

प्रहरीका अनुसार दुई बालिका मध्ये एक जना कक्षा ५ र अर्को एक जना कक्षा ६ मा पढ्छन्। स्थानीयबासीका अनुसार यस अघि पनि मोवली विरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको थियो।

प्रकाशित मिति: : 2020-01-24 05:22:48

प्रतिकृया दिनुहोस्