दैलेखमा भत्काइए २४१ छाउगोठ

जिल्लाकै बढी ११२ छाउगोठ भत्काइयो' उनले भने।

सांकेतिक तस्बिर

दैलेखमा छाउगोठ भत्काउने अभियानअन्तर्गत दिनहुँ धमाधम छाउगोठ भत्काउन थालिएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको छ।

'दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइयो' उनले भने।

जिल्लामा सामाजिक कु–संस्कारका रूपमा व्याप्त प्रथा उन्मूलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम गरेको नारायण नगरपालिका– १ दैलेखका समाजसेवी मनोज थापाले बताए।

'स्थानीय प्रशासनले कडाइका साथ काम गरेता पनि मनको छाउ भत्कनु सकेको छैन्' उनले भने।

पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तरक्रिया र छलफल गरिएपछि दैलेखमा छाउगोठ भत्काउने अभियान थालिएको हो।

तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पूर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा छाउगोठ भत्काइएको छैन।

ठाटिकाँधमा छुट्टै छाउगोठ नभएका घरकै गाई गोरु बाँध्ने ठाउँमा महिनावारी भएका महिला बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने सम्भावना भएकाले गोठ नभत्काइएको प्रहरी निरीक्षक साउदको भनाई छ।

 

प्रकाशित मिति: : 2020-01-24 04:19:06

प्रतिकृया दिनुहोस्