'अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम भइरहेको छ' उनले भने।
दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन् नसकेको भन्दै बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन्।
गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरि बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका हुन्।
'गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ', शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भने, 'तर पनि अझै न्यूनीकरण हुन सकेको छैन, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप निरन्तरता दिनेछौँ।'
बाल विवाहले प्रजनन् स्वास्थ्यमा पनि निकै ठूलो असर पर्ने भन्दै यसको न्यूनीकरण आवश्यक रहेको उनको भनाई छ। 'अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम भइरहेको छ' उनले भने।
मन्दिरका पुजारीलाईसमेत बाल विवाह गर्न आउनेहरुको विवाह नगरिदिन उनले अनुरोध गरे। 'अबको केही समयमा थारु समुदायका अगुवा (गुरुवा) हरुसँग पनि समन्वय गर्नेछौं' उनले बताए।
गाउँपालिका अध्यक्ष भागीराम चौधरीले दंगीशरण गाउँपालिकाले पनि बाल विवाह न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको बताए।
'हामी बाल विवाह न्यूनीकरण गर्ने अभियानमा लागिरहेका छौँ', उनले भने, 'बाल विवाह न्यूनीकरण गर्न सामाजिकरूपमा निकै चुनौती भए पनि त्यसलाई जसरी पनि पार गर्नेछौं।'
अहिले बाल विवाहले सामाजिकरूपमा मात्रै नभई स्वास्थ्यका हिसाबले पनि निकै असर गरिरहेको उनको भनाई छ।
इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख जीवनविक्रम शाहका अनुसार अहिले बाल विवाह हुने गरेको भए पनि लिखित निवेदन नआउँदा बाल विवाह न्यूनीकरणमा चुनौती देखिएको छ।
'जाहेरी आएपछि हामीले बाल विवाह रोक्ने प्रयास गरिरहेका हुन्छौँ', उनले भने, 'तर जाहेरी नै नआउँदा पनि बाल विवाहले प्रश्रय पाइरहेको हुन्छ।'
बाल विवाहले घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना भइरहेकाले गाउँगाउँमा सचेतना प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय खिलतपुरका निमित्त प्रमुख देवराज ओलीले बताए।