मोरङको धनपालनथान गाउँपालिका–४ हरकपुरमा दुई समूहबीच दोहोरो कुटाकुटमा तीन जना घाइते भएका छन्।
घाइते मध्ये दुईको अवस्था चिन्ताजनक छ। स्थानीय ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह र ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह बीच कुटाकुट भएको हो।
घटनामा विसुनदेव, बलराम र किसुन घाइते छन्। उनीहरु मध्ये चिन्ताजनक अवस्थाका विसुनदेव र बलरामको न्युरो अस्पतालमा उपचार भइरहेको छ। किसुनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा हरिओम र धनीरामबीच विवाद सुरु भएको बताए। उनकाअनुसार होटलबाट निस्किएर घरतर्फ जाँदै गर्दा उनीहरुले फोन गरेर आ–आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यस क्रममा बाँस र ढुंगा हानाहान भएको थियो।
प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेको छ। उनीहरुको पनि शरीरका विभिन्न भागमा चोटहरु रहेको प्रहरीले जनाएको छ।