रु एक हजार दरका ३१ थान नक्कली नोट बरामद
काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराका २७ वर्षीय अनुश थापा मगर र २२ वर्षीय रवि आलेमगर रहेका छन्।
आइतबार बिहान महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको साथबाट रु एक हजार दरका ३१ थान नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।
नक्कली नोट झोलामा बोेकेर हिँडिरहेको अवस्थामा उनीहरु पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।