भोजपुरको साङ्पाङ्की २० वर्षीय युवतीमाथि २०५८ साल फागुन २१ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ (साविकको वयरवन गाविस ९) स्थित दक्षिणतर्फको जंगलमा सामूहिक बलात्कार भएको थियो।
१८ वर्षअघि भोजपुरकी एक युवतीमाथि मोरङको कानेपोखरीमा भएको सामूहिक बलात्कारको घटनामा संलग्न मध्ये दुई जना पक्राउ परेका छन्।
सामूहिक बलात्कार जस्तो जघन्य अपराधको घटनामा संलग्न पाँचमध्ये अन्य तीन जना त्यतिबेलै पक्राउ परेका थिए। घटना भएको १८ वर्षपछि पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका १० (साविकको शनिश्चरे गाविस १) का ३८ वर्षीय विनोद घिमिरे र ४० वर्षीय हरि भनिने हिरण्यबहादुर मगर रहेका छन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दीलिप गिरी नेतृत्वको टोलीले घिमिरेलाई पथरीशनिश्चरे १ र मगरलाई पथरीशनिश्चरे १० बाट पक्राउ गरेको हो।
भोजपुरको साङ्पाङ्की २० वर्षीय युवतीमाथि २०५८ साल फागुन २१ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ (साविकको वयरवन गाविस ९) स्थित दक्षिणतर्फको जंगलमा सामूहिक बलात्कार भएको थियो। मर्निङवाकमा निस्किएका पाँच युवाको सामूहिक बलात्कारको शिकार बनेर घाइते भएकी युवतीको विराटनगरको कोशी अञ्चल अस्पतालमा उपचार गरिएको थियो। घटनाअनुसार बिहान ७÷८ बजेतिर युवतीले लगाएको चश्मा सडकमा खसेर फुटेको थियो। त्यही तनावमा रहेकी उनलाई चश्मा बनाइदिने भन्दै नजिकैको जंगलमा लगेर सामूहिक बलात्कार गरिएको अनुसन्धानबाट पुष्टि भएको थियो।
घटनामा परेर घाइते भएकी उनलाई बलात्कारमा संलग्न युवाले नै पश्चिमतर्फ जाने गाडी जवरजस्ती चढाइदिएका थिए। त्यसपछि बेलबारी पुगेर प्रहरीलाई घटनाका बारेमा मानसिक रुपमा विक्षिप्त बनेकी युवतीले जानकारी दिएकी थिइन। तत्काल परिचालित प्रहरी टोलीले घटनामा संलग्न पाँच मध्ये पथरीशनिश्चरे १० का जीवन कटुवाल, विष्णु खतिवडा र जीवन राईलाई पक्राउ गरेर जवरजस्ती करणीमा मुद्दा चलाएको थियो।
घटनाका मुख्य योजनाकार विनोद घिमिरे र हरि भनिने हिरण्यबहादुर मगर फरार भएका भए। यही मुद्दामा बलात्कारमा संलग्न पाँचै जनालाई जिल्ला अदालत मोरङले २०६९ साल माघ ४ गते जनही तीन÷तीन वर्ष कैद सजायको फैसला सुनायो। ती मध्ये विनोदबाट पीडितलाई आधा अंश भराउने फैसला पनि अदालतबाट भएको थियो।
घटना भएकै दिन पक्राउ परेका कटुवाल, खतिवडा र राई अदालतले फैसला गरेको कैद सजाय भुक्तान गरेर छुटिसकेका छन्। तर सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेर कैद सजायको फैसला गरे पनि फरार रहेका घिमिरे र मगरलाई भने घटना भएको निक्कै लामो समयपछि पक्राउ गर्न सकिएको डीएसपी गिरीले बताए। पक्राउ पर्ने डरले प्रहरीबाट छलिँदै उनीहरु भारत, दुवई, साउदी अरव र कतारसम्म पुगेको खुलेको छ ।
घटना लगत्तै फरार बनेका घिमिरेले दिल्ली पुगेर गाडी धुने काम गरेको खुलेको छ । त्यसपछि कोलकालामा तीन वर्षसम्म एउटा चलचित्र हलमा झाडु लगाउने काम गरेका उनी नेपाल फर्किएर २०६३ सालमा दुवई गएको खुलेको डीएसपी गिरीले बताए । ‘तीन वर्ष दुवईमा विताएर नेपाल फर्किएपछि बिहे गरेको खुल्यो,’ उनले भने, ‘त्यसपछि पनि दुवई गएर डेढ वर्ष विताएको पाइयो ।’ त्यसपछि नेपाल फर्किएर साउदी अवर पुगेका उनी त्यहाँबाट भने २०७१ सालमा नेपाल फर्किएको खुलेको छ ।
विदेश बस्दा कमाएको पैसाले पथरीशनिश्चरे १ मा कार्पेट पसल नै सञ्चालन गरेर बसेका थिए । उनलाई प्रहरीले त्यही पसलबाट पक्राउ गरेको हो । उनका श्रीमती र एक छोरी रहेको प्रहरीले जनाएको छ ।
मगरले भने घटनापछि मोरङकै ओरहीमा लुकिछिपी बसेर तीन वर्ष विताएको खुलेको छ । उनी घरको गाह्रो लगाउने मिस्त्री काम गर्थे । प्रहरीलाई छल्दै तीन वर्ष मोरङमै बसेका उनले २०६१ सालमा बिहे गरेको खुलेको छ । त्यसपछि उनी २०६२ सालमा कतार उडे । चार वर्ष त्यहाँ बसेर २०६६ सालमा नेपाल फर्किएका मगरले त्यसपछि घरको गाह्रो लगाउने पुरानै काम थाले । अहिले पनि गाह्रो लगाउने लगायत ज्यालामजदुरी गरेर बस्ने गरेको खुलेको डीएसपी गिरीले बताए । उनकी श्रीमती कुवेतमा छिन् । एक छोरा रहेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि फरार रहेकाहरुलाई पक्राउ गरेर प्रहरीले बुझाएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । उनका अनुसार प्रहरीले बुझाएपछि दुवै जनालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।