गरिबलाई बचाउने म्याग्देली अभियान (भिडियोसहित)

ओमकुमारी शान्ति कोषले ११६ जनाको गरिबको उपचारमा सहयोग पुर्‍याइसकेको छ । 

म्याग्दी जिल्लामा ‘दिन जान्यो बाँच्न जान्यो’ भन्ने मुल मन्त्र बोकेर एउटा नमुना अभियान सञ्चालन भइरहेको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले हालसम्म ११६ जना गरिबको उपचारमा सहयोग पु¥याइसकेको छ । पैसा नभएर कसैले पनि उपचारै नपाई ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले विसं २०७१ मा कोष गठन गरिएको थियो । 

कोष गठन गरिनुमा एउटा दुखद् घटनाले काम गरेको छ । त्यतिबेला बोन म्यारोको उपचार गर्दागर्दै १८ वर्षिया ओमकुमारी पुनको जीवन गुम्यो । उनको उपचारार्थ सहयोग संकलन गरिएको थियो । ओमकुमारीको निधनपछि बचेको रकम १३ लाख रुपैयाँबाट कोष गठन गरियो ।    

गरिब बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले कोष गठन गरिएको थियो । कोषका संस्थापक अध्यक्ष चन्द्र केसी हुन् । हाल कोषको खातामा ९७ लाख रुपैयाँ छ । मुलुकभित्र र बाहिरका म्याग्देलीले थप ८० लाख रुपैयाँ सहयोग गर्ने बचनबद्धता जनाइसकेका छन् । 

‘हामी दुई करोड रुपैयाँको अक्षय कोष स्थापना गर्दैछौंं’, हाल कोषका अध्यक्ष रहेका राजेश शाक्य भन्छन्, ‘यसको व्याजबाट गरिबको उपचार गरिरहनेछौं ।’

मुलुकभित्र र मुलुकबाहिर बस्ने नेपाली माझ कोषको कामले प्रशंसा पाउँदै गएको छ । विशेषतः स्वदेश र विदेशमा बस्ने म्याग्देलीले कोषमा रकम जम्मा गर्दै आएका छन् ।

कोषमा रकम बढाउन अध्यक्ष शाक्यको सक्रियता प्रशंसा गर्न लायक छ । उनी बेनी बजारका युवा उद्यमी हुन् । उनी आफैंमा उदाहरणीय समाजसेवी पनि हुन् । 

समाजमा आफ्ना लागि मात्र बाँच्नेहरू धेरै हुन्छन् । तर, अरुका लागि बाँच्नेको जीवन सार्थक बन्छ । यस्तै युवा हुन् शाक्य । व्यापार, समाजसेवा र पर्यटन अभियानका अभियन्ता पनि हुन् उनी ।  

भर्खर ३९ वर्षमा हिँड्दै गरेका शाक्यको जीवनकथा प्रेरणादायी छ । उनी  म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् । बेनीबजारमा उनी पाउरोटी कारखाना र डिपार्टमेन्टल स्टोर चलाउँछन् । 

उनले डेढ दर्जनलाई रोजगारी दिएका छन् । त्यति मात्र कहाँ हो र, उनकै सहयोग र मार्ग निर्देशनमा बेनी बजारमा केही युवा उद्यमी बनेका छन् । 

कोष मार्फत् सामाजिक अभियानमा होमिएको त माथि नै चर्चा भैसक्यो । उनी म्याग्दीको पर्यटन अभियन्ताका रुपमा समेत स्थापित भैसकेका छन् । उनकै अगुवाइमा उद्योग वाणिज्य संघले ‘धौलागिरि सेन्चुरी’ पदमार्ग पहिचान गरेको थियो । 

त्यति मात्र कहाँ हो र, उनी म्याग्दीको पर्यटकीय गन्तव्यहरू उजागर गर्न बेलाबेलामा काठमाडौं र बेनीका पत्रकारलाई घुमाउँछन् । यसमा उनी आफ्नै पकेटको खर्च गर्छन् । 

पछिल्ला केही वर्षदेखि गाउँहरूमा पर्यटन चेतना बढाउने क्रियाकलाप पनि गर्दै आएका छन् । उनले बेनी नगरपालिका सहित म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो बुक प्रकाशन गर्दैछन् । 

‘पर्यटनबाट मात्र म्याग्देलीको जीवनस्तर उकास्न सकिन्छ’, अभियन्ता शाक्य भन्छन्, ‘हाम्रा जनप्रतिनिधिहरूले गम्भिरतापूर्वक पर्यटन विकासमा अगुवाई गर्नु पर्छ ।’

सामाजिक अभियन्ता एवं उद्यमी राजेश शाक्यको समूहलाई बधाई अनि शुभकामना !    
सम्पर्कः राजेश शाक्य–९८५७६२४६०१

प्रकाशित मिति: : 2020-01-16 22:56:40

प्रतिकृया दिनुहोस्