हामीले त विप्लव समूहकाे क्रियाकलापलाई आतंकवादी भनेका हौं, त्यो पुष्टि भइसक्यो: मन्त्री बास्कोटा

बिएल संवाददाता

काठमाडाै‌ं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वालुवाटारको जग्गा कब्जा गर्ने विप्लवको घोषणालाई चर्चामा आउने दाउमात्र भएको बताएको छ।

बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको बारेमा मन्त्रिपरिषदको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सार्वजनिक चासो भएको विषयमा कुनै एक्सन गरेर चर्चामा आउने दाउमात्र भएको बताएका हुन्।

‘सार्वजनिक चासोको विषयमा कुनै त्यस्तो एक्सन गर्‍यो भने शक्तिशाली देखिन्छ कि भन्ने होला’ उनले भने ‘त्यसैले त हामीले त विप्लव समूहकाे क्रियाकलापलाई आतंकवादी  भनेका हौं, हामीले जे भन्दै आएका थियौं त्यो पुष्टि भइसक्यो।’

मन्त्री बास्कोटाले बालुवाटारको जग्गा नेपाली जनताको भएको दाबी गरे।

उनले विप्लवले कब्जा गर्नुको कुनै अर्थ नहुने बताए । ‘झण्डा गाडेर केही हुनेवाला छैन । सरकारले जोगाउन लागेको भए पो बहादुरी गर्नु, सरकार आफैले छानबिन गर्न लागेको छ।’ उनले भने ।

उक्त पार्टिले छापेको एक प्रर्चामा जनाइएअनुसार कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको छ। ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडियो ग्रुपसाग भएको ३ रोपनी, शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा आफूले कब्जा गरेको घोषणा गरेको छ।

विप्लव समूहले कब्जा गरिएको सो जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारवाही गर्ने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति: : 2020-01-16 22:27:47

प्रतिकृया दिनुहोस्