प्रधानमन्त्रीले भने-अब सिङ्‌गो मुलुकलाई सुरक्षित बनाउँछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन सजकता अपनाउन आह्वान गरेका छन्।

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भूकम्पको जोखिम रहेको हाम्रोजस्तो भूभागमा यस्ता प्राकृतिक विपद्ले हुनसक्ने जनधनको क्षतिबाट जोगिन सजकता अपनाउन आवश्यक रहेको बताएका छन्।

राज्य संरचनाका अङ्‌गहरूमा मात्र विपद् व्यवस्थापनका पक्षहरूलाई सवल बनाएर नपुग्ने भन्दै प्रम ओलीले समाजको जीवन पद्दतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्नसक्ने बनाउनु जरूरी रहेको औंल्याएका छन्। यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको उनले बताए।

राज्य संरचनाका अङ्‌गहरूमा मात्र विपद् व्यवस्थापनका पक्षहरूलाई सवल बनाएर नपुग्ने भन्दै प्रम ओलीले समाजको जीवन पद्दतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्नसक्ने बनाउनु जरूरी रहेको औंल्याएका छन्।

‘२०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर भएका छौं,’ उनले सन्देशमा भनेका छन्।

भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुखद् अनुभवलाई विस्मृतिमा जान नदिने उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

पछिल्लो पटक विनासकारी भूकम्प गएको पनि ४ वर्ष पुग्न लागेको छ। यसबीचमा भूकम्पले संरचनामा पुगेको क्षतिको पुनर्निर्माणमा ढिलाइ भएको गुनासो पनि आइरहेका छन्। तर प्रम ओलीले भनेका छन् ‘भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौं। २०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट पुगेको क्षतिलाई हामीले पुनर्निर्माण गरी निश्कर्ष नजिक पुर्‌याएका छौं।’

भूकम्पले ध्वस्त भएका जनताका आवास, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनहरूलाई खण्डहर जमिनबाट उठाएर नवनिर्माणको सुखद् तस्बिरमा बदलेको दाबी पनि गरेका छन्।

भूकम्पपछि ढलेको समाजको मनोबल उठ्ला त भन्ने प्रश्नलाई कामद्वारा नै सम्बोधन गरिरहेको र त्यसलाई निकट भविश्यमै सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

‘भूकम्पपछिको पुनर्निर्माण मात्रै होइन, हामीले यसबीच बारा र पर्साका हुरी प्रभावित जनताका उजाड बस्ती ५ महिनामै निर्माण गरी हस्तान्तरण गरेका छौं,’ ओलीले भने, ‘प्राकृतिक विपत्तिका बेलामा राज्यका तर्फबाट हामीले अपनाएको लगाव र तत्परतालाई यसले प्रतिविम्बित गर्दछ।’

पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण गर्दा परम्परागत मौलिकता कायम राख्दै भूकम्पबाट अधिकतम सुरक्षित हुने गरी बनाउने जोखिमयुक्त स्थानमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाएको ओलीले सन्देशमा उल्लेख गरेका छन्।

उनका अनुसार सरकार भूकम्पप्रभावित क्षेत्रलाई मात्र होइन, सिङ्‌गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रूपमा सुरक्षित बनाउन लागेको छ।

प्रकाशित मिति: : 2020-01-16 15:25:09

प्रतिकृया दिनुहोस्