दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ
पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ। बिहान स्नान्न गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए।
'ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए,' उनले भने, 'देशभर र भारतीय विभिन्न क्षेत्रबाट भक्तजन आउने क्रम जारी रहेको छ।'
मेलालाई व्यवस्थित गरिएकाले तीर्थालु भक्तजनले सहज रुपमा स्नान र पूजापाठ गर्न पाएको अध्यक्ष पौडेलको भनाई छ।
आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए। 'डुङ्गासहितको उद्धारका लागि नेपाली सेना जुटेको छ' उनले भने।
देवघाटमा मङ्गलबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो।
सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ। साथै भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रही आएको छ।