‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन
कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ। विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो।
गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालका अनुसार गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को उत्पादन स्कूल डायरीमार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको हो।
'पहिलोपटक गाउँपालिकाका दुई विद्यालयमा यो प्रविधि जडान गरिएको छ', उनले भने, 'प्रविधि सबै विद्यालयमा सञ्चालन गरिने छ।' विद्युतीय सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने अध्यक्ष सेजुवालको भनाई छ।
अनुगमन प्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै उनले भने,'अब प्रविधिको प्रयोगले अनुगमनमा सहज हुनेछ।' उक्त प्रविधिले शिक्षकलाई नियमित विद्यालय आउन सजिलो हुने उनको भनाई छ।