ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण हुने

उनले भने, 'कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ।'

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण हुने बताएका छन्।

सोमबार पदबहाली गर्दै मन्त्री बाँस्कोटाले चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गरे।

उक्त पार्क ज्ञान केन्द्रका रुपमा रहने भन्दै उनले भने, 'कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ।'

नेपालमा अहिलेसम्म ज्येष्ठ नागरिकका लागि छुट्टै विश्रामस्थल नभएकाले ‘बाजेबज्यै पार्क’ निर्माण गर्न लागिएको मन्त्री बाँस्कोटाको भनाई छ। 'निर्माणका लागि हामीसँग जग्गा छ', उनले भने, 'अबका केही दिनमै निर्माण प्रक्रिया अघि बढाइनेछ।'

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा युवा वर्गलाई नाँच्ने, गाउने जस्ता रमाइलो गर्न पार्क निर्माण गर्न लागिएको पनि उनले बताए। खुला रङ्गमञ्चका रुपमा निर्माण हुने पार्कमा युवा एकअर्कामा अन्तरघुलित हुने मन्त्री बाँस्कोटाको बिश्वास छ।

'अहिले युवा एकअर्कालाई फेसबुक र ट्वीटरमार्फत चिने पनि त्यो मान्छेको स्वर कस्तो छ समेत थाहा छैन त्यो हटाउनका लागि यो पार्कको महत्व छ' उनले भने।

विभिन्न जिल्लामा एकीकृत बस्ती निर्माणका लागि प्राप्त अध्ययन प्रतिवेदन पनि स्वीकृत गर्दै उनले भने, 'विकासका लागि लाग्ने लागत कम गर्न एकीकृत बस्तीको महत्व रहेको छ।'

लक्षित वर्गका लागि विभिन्न स्थानमा पार्क निर्माण गरिने उनले बताए। सो अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालय र मन्त्रालय अन्तर्गत निकायका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

नेपालमा यसप्रकारको पार्क पहिलो पटक शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको हो।

प्रकाशित मिति: : 2020-01-13 22:58:04

प्रतिकृया दिनुहोस्