ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ। तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ।
२० मिटरको मापदण्ड भए पनि त्यसलाई कम गरेर सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका संसद्बीच सहमति भएको आयोजनाका इन्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए।
उक्त सडकमा कालोपत्र मापदण्डानुसार हुने बताउदै २० मिटरमा १६ मिटरमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने उनको भनाई छ।
विगतमा सडकको चौडाइकै विषयमा निर्माण व्यवसायी र स्थानीयवासीबीच विवाद भएको भन्दै उनले भने, 'जनप्रतिनिधिमार्फत समस्या समाधान भएकाले अहिले काम अघि बढाउने वातावरण बनाइएको हो।'
स्थानीयवासीले घरसँगै जग्गाको मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन विगतका वर्षमा भौतिक प्रगति कम थियो। सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन सकिएको थिएन।
सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ। सडक निर्माणको ठेक्का आयोजनाले आशिष सी एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ। ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिँदैछ।