चालक अनुमतिपत्र बनाइदिने भन्दै रु पाँच हजार लिएका थिए।
नेपाल प्रहरीले आइतबार रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेत रहेका छन्।
चालक बस्नेतलाई एकान्तकुनाबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रु पाँच हजार लिएका थिए।
पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ।