राष्ट्रियसभा बैठक : महतोका हत्यारालाई कडा कारवाही गर्नुपर्ने माग

वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग

फाइल तस्बिर

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन्।

बैठकमा बोल्दै सांसद डा विमला राई पौडेलले महतो हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय दिनका साथै आगामी दिनहरुमा त्यस्तो घटना दोहोरिदैन भनेर सुनिश्चित गर्नुपर्ने माग राखिन्।

'छाडा क्रसर उद्योगको छाडापन रोक्नुपर्छ, उत्खनन नियमन गर्नुपर्छ, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननको दीर्घकालीन समाधान खोज्नुपर्छ,' उनले भनिन्, 'राष्ट्रपति चुरे तराई मधेश विकास बोर्डले अवैध क्रसर उद्योग रोक्न के काम गर्दैछ जवाफ चाहिन्छ।'

महतोको हत्याको विरोध गर्दै अपराधीलाई कडा कारवाही गर्नाका साथै सो घटनाबाट जनतामा आएको त्रसित मानसिकता हटाउनुपर्ने सांसद कोमल ओलीको भनाई छ।

उनी भन्छिन्, 'मानवता कमजोर भएको छ, त्यस घटनामा प्रहरी प्रशासन उदासीन देखिन्छ, राज्यमा सरकार छ, प्रहरी प्रशासन छ, प्रहरी प्रशासनप्रति विश्वास गर्ने वा नगर्ने अन्योल छ।'

वातावरण र नदीनालाको संरक्षणको कुरा निकाल्दै सांसद वृषेशचन्द्र लालले दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गरे।

'बिनामुचुल्का प्रहरीले शव उठाएको छ, त्यसमा प्रहरी प्रशासनको मिलेमतो हुनसक्छ,' उनले भने, 'यसले देशको शान्तिसुरक्षाको अवस्था झल्किन्छ' उनले भने।

सरकारले एमसिसी सम्झौतालाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्नेमा जोड सांसद जीतेन्द्रनारायण देवले दिए। 'नेपालको परराष्ट्र नीतिको सञ्चालन संविधानले निर्दिष्ट गरेको बाटोबाट सञ्चालन हुने हो/होइन वा कुनै अमुक पार्टीको सिद्धान्तको आरधारमा निर्दिष्ट हुने हो, उनले भने, 'एमसिसी अनावश्यक ढङ्गले कसैको इशारामा अगाडि बढाउनु हुँदैन।'

त्यस्तै सासंद शेरबहादुर कुँवरले पृथ्वीनारायण शाहले मुलुक निर्माणमा पुर्याएका योगदानको चर्चा गर्दै राज्यले राष्ट्रका विभूतिलाई बिर्सिन नहुने बताए। 'नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले मुलुकमा पुर्याएको योगदानलाई हामीले भुल्नु हुदैन्' उनले भने। 

प्रकाशित मिति: : 2020-01-13 05:16:13

प्रतिकृया दिनुहोस्