अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता जनाएका थिए
सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते १५ आँै अन्नदान मेला आयोजना हुने भएको छ।
उक्त मेला आयोजना हुन् लागेको नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले जानकारी दिए। मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पुर्याउँदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता जनाएका थिए तर यस वर्ष भने सबै क्षेत्रका बासिन्दालाई मेलामा सहभागिता जनाउन उनले आह्वान गरे।
अन्नदान मेलामा धान, चामल, गहँु, जौँलगायतका अन्नका साथै स्वेच्छाले आर्थिक दान दिन आह्वान गरिएको हो। त्यसैगरी समितिले मन्दिर परिसरमा निर्माण भइरहेको र हुने भौतिक संरचना समेटिएको रु सात करोड लागतको गुरुयोजना सार्वजनिक गरेको छ।
मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायिक भवन, मूल मन्दिर, कलात्मक गेट, भजनपाटीलगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरिएको हो।
मूल मन्दिर निर्माणका लागि रु दुई करोड ५९ लाख, बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि रु दुई करोड ५० लाख, कलात्मक प्रवेशद्वार निर्माणका लागि रु २८ लाख २५ हजार, भजनपाटी एवं सत्तल निर्माणका लागि रु ३९ लाख ६९ हजार, दाफा भजनघर निर्माणका लागि रु ३५ लाख ५७ हजार, ढुङ्गा छपाइका लागि ४३ लाख ५४ हजारलगायत उद्यान र अन्य संचरना निर्माणसमेतको गुरुयोजना सार्वजनिक गरेको समितिका उपाध्यक्ष श्रीराम व्यञ्जूले जानकारी दिए।
पुनःनिर्माण प्राधिकरणले रु एक करोडको लागतमा पुरातत्व विभागमार्फत पुरातात्विक शैलीमा कलात्मक मन्दिर निर्माण गरिदिने भएको छ। 'गुरुयोजनाअनुसार थप बजेटसहित मन्दिर निर्माण सम्पन्न पुरातत्व विभागबाटै हुने अपेक्षा गरेका छौं।'
त्यस्तै मन्दिरको पूर्वपट्टि बहुउद्देश्यीय सामुदायिक भवन निर्माणकार्य शुरु भई पाँचतलाको संरचना निर्माण गरी ढलानकार्य सम्पन्न गरी थप संरचना निर्माण भइरहेको र त्यसका लागि हालसम्म रु एक करोड ६९ लाख खर्च भइसकेको समितिका उपाध्यक्ष व्यञ्जूले जानकारी दिए।
'प्रदेश नं ३ सरकार, सांसद कोष, सूर्यविनायक नगरपालिका, स्थानीय चन्दादाताबाट प्राप्त उक्त रकम र जनश्रमदानमा भवन निर्माण भइरहेको छ' उनले भने।
प्रसिद्ध धार्मिकस्थल मानिने नन्दीकेश्वर महादेव मन्दिरमा वैशाख पूर्णिमाको दिन १०८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक सङ्क्रान्तीमा विशेष पूजा, माघ १ गते अन्नदान, जनैपूर्णिमा मेला, हरितालिका तीज मेला, नवरात्रि मेला, सकिमना पूर्णिमा मेला, शिवरात्रि मेला लाग्ने गर्दछ।