सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार उपत्यकाभित्रको बाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन लागिरहेको बताएका छन्।
म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उनले बाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौँ व्यवस्थित हुन नसक्ने बताए।
सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको स्वीकार गर्दै मन्त्री मानाधरले भने,'ऐतिहासिक र सांस्कृतिक महत्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्छ।'
उपत्यकाभित्र मात्रै नभई उपत्यकाबाहिर पनि निर्माण कार्य भइरहेको मन्त्री मानाधरले बताए।
त्यस्तै उक्त कार्यक्रममा पूर्वमन्त्री रामकुमार श्रेष्ठले म्हैपी क्षेत्रको विकासका लागि सबै जना एकजुट हुनुपर्ने बताए। 'आफ्नो लागिभन्दा पनि समाजका लागि काम गरौँ' उनले भने।
समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले म्हैपी मन्दिर जानका लागि घुम्ती बाटो निर्माण अहिलेको प्राथमिकता भएको बताउदै भने,'घुम्ती बाटो निर्माणका लागि काठमाडौँ महानगरपालिकाले गरेको रु ५० लाख सहयोगले मात्रै हुन सक्दैन।'