अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा पुनः आगो सल्कियो

अस्ट्रेलियामा आगोका कारण २७ जनाले ज्यान गुमाइसकेका छन्। आगोले दक्षिण कोरिया जतिको भूभाग जलाइसकेको बताइएको छ।

एजेन्सी

भिक्टाेरीया

गर्मी बढेसँगै अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा पुनः आगो सल्किएको छ। यो अवस्थालाई दृष्टिगत गर्दै भिक्टोरिया प्रान्तका गर्भनर डेनियल एन्ड्रयुजले स्थानीयसँग सतर्क रहन अपील गरेका छन्। उनले आगो प्रभावित क्षेत्रबाट बाहिर निस्किन पनि आफ्नो जनतासमक्ष अपील गरेका छन्। भिक्टोरियाको तटीय क्षेत्र मल्लकुटामा आगोका कारण फसेका मानिसलाई बुधबार रातीसम्म सेनाको सहयोगले बाहिर निकालिएको थियो। 

अस्ट्रेलियामा आगोका कारण २७ जनाले ज्यान गुमाइसकेका छन्। आगोले दक्षिण कोरिया जतिको भूभाग जलाइसकेको बताइएको छ। घर जलेका कारण हजारौं मानिस घरबिहिन बन्न पुगेका छन्। आगोका कारण कङगारू आइल्यान्डको एक तिहाई क्षेत्र बर्बाद भइसकेको छ। मौसम विभागले तत्कालै गर्मी नघटने बताएपछि जोखिम अझै बढ्ने सम्भावना देखिएको छ। 

आगो नियन्त्रण गर्न गठित राष्ट्रिय बुसफायर रिकभरी एजेन्सीलाई प्रधानमन्त्री स्कट मोरिसनले १ दशमलव ४ अर्ब डलर उपलब्ध गराउने घोषणा गरिसकेका छन्। आगोलाई नियन्त्रणमा राख्न अमेरिका र क्यानडासमेत केही देशका उद्धारकर्ता अस्ट्रेलिया पुगिसकेका छन्। 

केही दिनअगाडि परेको बर्षाका कारण मानिसहरूलाई केही राहत महसुस भएको थियो। तर, साताको अन्त्यमा फेरि तापमान बढ्ने सम्भावना छ। 
 

प्रकाशित मिति: : 2020-01-10 10:49:53

प्रतिकृया दिनुहोस्