सरकारले जनताका अधिकार कुण्ठित गर्न खोज्यो : सभापति देउवा 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सूचना प्रविधि र विशेष सेवासम्बन्धीलगायत विधेयकका माध्यमबाट जनताका अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

बूढानीलकण्ठमा बिहिबार जिल्ला सभापतिहरुबीच भएको छलफलमा बोल्दै सभापति देउवाले पार्टीमा एकता कायम राख्न आवश्यक रहेको बताए।

'लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का हुनुपर्छ' उनले भने। सोमबारदेखि काठमाडौँमा चलेको ‘जिल्ला सभापतिको परामर्श बैठक’ मा जिल्ला सभापतिहरुले सरकारका अलोकतान्त्रिक कदमका विरुद्ध सिङ्गो पार्टी एक हुनुपर्ने धारणा राखेका थिए।

उक्त बैठकमा उनीहरुले केन्द्रीय कार्यसमिति बैठकबाट यही पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिका साथ पार्टीको १४औँ महाधिवशेनको कार्यतालिका बनाउन माग गरेका थिए।

सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पुर्याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको र विधानविपरीत विधानका केही दफा निलम्बन गरेको भन्दै असन्तुष्ट बनेका वरिष्ठ नेता पौडेल समूहले भावी योजना तय गर्नका लागि सुझाव लिन जिल्ला सभापतिहरुको बैठक बोलाएको थियो।

छलफलमा सभापति देउवाका साथै उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मालगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: : 2020-01-10 04:43:30

प्रतिकृया दिनुहोस्