जेएनयू हिंसामा भारतभरि विधार्थीद्धारा प्रदर्शन

कोलकातामा भने कम्युनिष्ट समर्थक र सत्तारुढ भारतिय जनता पार्टी (भाजपा) का समर्थकबीच भिडन्त भएको छ। 

भारतको चर्चित विश्वविद्यालय जेएनयूमा भएको हिंसाको विरोधमा देशभरि प्रदर्शन सुरु भएको छ। सोमबार साँझ प्रतिपक्षी यूथ कांग्रेसका कार्यकर्ताले राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेटमा मशाल प्रदर्शन गरे। यस्तै, मुम्बईस्थित गेटवे अफ इन्डियामा पनि विद्यार्थीले प्रदर्शन गरेका छन्। 

तमिलनाडुमा विधार्थीले मैनबत्ति बालेर विराेध प्रदर्शन गरे। दिल्ली प्रहरीले जेएनयूमा उत्पात मच्चाउने अज्ञात आरोपीविरूद्ध एफआइआर दर्ता गरेको बताइएको छ। सुरक्षालाई ध्यानमा राखेर सोमबार जेएनयूमा ७ सय पुलिसकर्मी खटाइएको छ। 

कोलकातामा भने कम्युनिष्ट समर्थक र सत्तारुढ भारतिय जनता पार्टी (भाजपा) का समर्थकबीच भिडन्त भएको छ। 

जेएनयूमा शुल्क बढाइएको विषयलाई लिएर आइतबार प्रदर्शन भएको थियो। जसमा अनुहार छोपेर कलेजभित्र प्रवेश गरेका अज्ञात व्यक्तिले शिक्षकलाई डन्डा र रडले हिर्काएका थिए। यो घटनाले कलेज आतंकीत भएको थियो। छात्र संघका अध्यक्ष आइशी घोषसमेत ३५ जना घाइते भएको बताइएको छ।

आइशीले पुरै घटनामा भाजपा समर्थक विधार्थी संगठन एबीवीपीको हात रहेको आरोप लगाएकी छिन्। 

जेएनयूमा शुल्क बढाइएको विषयलाई लिएर दुई महिनादेखि प्रदर्शन भइरहेको छ। आइतबार पनि विधार्थीले आफ्नो माग राख्दा झगडा सुरु भएको थियो। एबीवीपी (अखिल भारतीय विधार्थी परिषद्) ले घटनामा आफूलाई बदनाम गर्न खोजिएको बताउँदै यसमा कम्युनिष्ट समर्थक विधार्थीको हात रहेको दावी गरेका छन्।  

जेएनयूका कूलपति एम. जगदीश कुमारले विधार्थीलाई शान्त रहन अपील गरेका छन्। उनले हिंसाको छिट्टै छानवीन हुने बताएका छन्। यो घटनामा दिल्ली पुलिसका अधिकारीको संयोजकत्वमा छानवीन कमिटी गठन भइसकेको छ। प्रहरीले सीसीटिभीको फुटेज लिने कार्यलाई तिब्र बनाएको बताइएको छ।

दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले पनि घटनाको विषयलाई लिएर पार्टीका शीर्ष नेता तथा मन्त्रीहरूलाई बैठकमा बोलाएका थिए। गृह मन्त्री अमित शाहले पनि प्रहरी प्रमुख अमूल्य पाठकलाई बोलाएर बरिष्ठ अधिकारीबाट घटनाको सत्यतथ्य छानवीन गर्न र छिट्टै रिपोर्ट पेश गर्न भनेका छन्। 
 

प्रकाशित मिति: : 2020-01-07 12:09:10

प्रतिकृया दिनुहोस्