प्रदेशको नामाकरण सम्बन्धी कार्यबिधी २०७६ सर्वसम्मतले पारित

प्रदेश तीनको प्रदेशसभा बैठकले प्रदेशको नामाकरण सम्बन्धी कार्यबिधी २०७६ सर्वसम्मतले पारित गरेको छ।  

प्रदेशसभा भवन हेटौडामा सोमबार बसेको प्रदेशसभा बैठकमा सांसद रामेश्वर फ्यालले राखेको उक्त प्रस्ताव सर्वसम्मतले पारित गरेको हो। बैठकमा सांसदहरुले कार्यविधीको छलफलमा भाग लिदै प्रदेशको नामाकरणको अधिकार आफुहरुलाई हुनुपर्ने बताएका थिए। कुनै पार्टीको निर्देशन आफुहरुलाई स्वीकार्य नभएको भन्दै उनीहरुले प्रदेशसभाको नाम र राजधानीका बारेमाा माथिल्लो तहबाट निर्देशन आउनु दुखद भएको बताए।  

प्रदेश–३ को नाम र राजधानी तोक्ने अधिवेशन ४ महिनापछि पछि सोमबार सुरु भएको हो। अधिवेशनको सुरुमा धारणा राख्दै मुख्यमन्त्री डोरमणि पौडेलले सोमबारबाट सुरु अधिवेशनले प्रदेशको नाम र राजधानी टुंग्याउने बताए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपाले आफ्नो प्रदेश संसदीय दललाई निर्देशन दिने प्रक्रिया गलत भएको बताए। बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आव्हानको पत्र पढेर सुनाएका थिए। प्रदेशसभाको अर्को बैठक बुधबार बोलाइएको छ।  
 

प्रकाशित मिति: : 2020-01-07 11:47:37

प्रतिकृया दिनुहोस्