अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्वेक्षक रामनरेश पासवानलाई साेमवार साँझ ७५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ।
वीरगञ्जको रानीघाटस्थित २ नम्बर नापी टोलीको कार्यालयमा सेवाग्राहीसँग जग्गा नापी गरी जग्गा धनी प्रमाण पुर्जा बनाइ दिने भन्दै ७५ हजार रुपैयाँ घुस वापतको रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले पासवानलाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका पासवानलाई थप अनुसन्धानका लागि हेटौडा लगिएको छ।
साइकल र सालको काठ बरामद
पर्साको संखुवाप्रसौनी गाउपालिका २ को श्रीपुरमा रहेको रामजानकी मन्दिरबाट गएराती साइकलसहित ५ थान सालको काठको गोलाई प्रहरीले बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको गस्तीटोलीले जङ्गलबाट साइकलमा लोड गरी ल्याउँदै गरेको ५ थान सालको काठको गोलाई बरामद गरेको हो। काठ तस्करहरुले गस्ती टोलीलाई देखेर साइकलसहितको काठ छाडेर फरार भएको सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए। बरामद गरिएको साइकल र काठ प्रहरीले नियन्त्रणमा लिएको छ।