दुई स्थानीय तहका युवालाई पहिलो पटक ७ दिने पशु खोप तालिम

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलीगाडको आयोजनामा पशु अस्पताल तथा पशु सेवा कार्यालय दुनैमा भएको पशु खोप तथा स्वास्थ्य उपचार सम्बन्धी एक हप्ते तालिममा सहभागि उपल्लो डोल्पाका युवाहरु ।

पशु स्वास्थ्य उपचार सम्बन्धी ज्ञानको अभावमा वर्षनी चौरी, झोवा खच्चड र भेडाच्याङग्रा मर्न थालेपछि स्थानीय युवालाई पहिलो पटक पशु खोप र स्वास्थ्य उपचार सम्बन्धी ७ दिने तालिम दिइएको छ।

उत्तरी सीमा क्षेत्रमा रहेका शे-फोक्सुण्डो र डोल्पोबुद्द गाउँपालिकाका स्थानीय युवाहरुलाई विश्व बन्यजन्तु कोष नेपालको आर्थिक र पशु अस्पताल तथा पशुसेवा कार्यालयको प्राविधिक सहयोगमा शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जले पहिलो पटक युवाहरुलाई पशु खोप तथा स्वास्थ्य उपचार सम्बन्धि तालिम दिएको हो ।

सदरमुकाम दुनैमा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयको पहुँच उपल्लो डोल्पामा नपुगिरहेको बेला दुई स्थानीय तहका युवाहरुलाई पशु खोप तथा उपचार सम्बन्धी दिइएको तालिमले वर्षनी उपचारको अभावमा हुने गरेको पशुबस्तुहरुको मृत्युदरलाई न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शे-फोक्सुण्डो र डोल्पोबुद्ध गाउँपालिकाका १२ जना युवालाई पशु आहार, खोप लगाउने तरिका, प्रयोग गरिने औषधि, पशुबस्तुहरुमा लाग्ने रोगहरु र उपचार पद्धति सम्बन्धि पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख चन्द्रलाल धराला र नायव सुब्बा अकल सेजुवालले प्रशिक्षण दिएका छन्।

यसै गरि रोगी पशु र निरोगी पशुहरुको पहिचान, सुई लगाउने तरिका तथा प्रयोगात्मक, पशुमा लाग्ने आन्तरिक रोग, लक्षण रोकथामका उपाय, पशुचरन खर्क तथा घुम्ति चरिचरनका बारेमा मौखिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

प्रकाशित मिति: : 2020-01-07 06:43:40

प्रतिकृया दिनुहोस्