बस्तीको माग गर्दै १२ घण्टे आन्दोलन, यातायात ठप्प

तस्बिर : बिएल

पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–२५ का सिर्सियावासीले १२ घण्टे आन्दोलन थालेपछि एकीकृत जाँचचौकी (आईसीपी) बाट भित्रिने सवारी साधनहरु रोकिएको छ।

सङ्घर्ष समितिका अध्यक्ष अम्बिकाप्रसाद कुर्मीका अनुसार सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी भन्सार कार्यालयको मध्य भागमा रहेको सिर्सिया गाउँका बासिन्दाले दैनिक १२ घण्टा आन्दोलन गरी विरोध जनाउँदै आएका छन्।

सिर्सियावासीले आगो बाली शान्तिपूर्ण विरोध जनाउँदै यातायात ठप्प पारेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी निरीक्षक रवि थापाले बताए।

सरकारले सुक्खा बन्दरगाह विस्तारका लागि विगत तीन वर्षदेखि रोक्का राखेको ६२ बिघा क्षेत्रफलको उचित मुआब्जाको माग राख्दै आन्दोलनकारीहरुले सोमबार सुक्खा बन्दरगाह अगाडि चण्डाल चोकलगायतका ठाउँमा आगो बाली विरोध गरेका छन्।

आन्दोलनको कारण सवारीसाधनहरु आवागमनमा गर्न रोक लगाइएको जनाइएको छ। सङ्घीय सरकारले जिल्ला मुआब्जा निर्धारण समितिमार्फत खेत भएको जग्गालाई प्रतिकठ्ठा रु २४ लाखदेखि ४८ लाख तथा घरघडेरी भएको जग्गालाई प्रतिकठ्ठा रु ४८ लाखदेखि ५५ लाखसम्म मुआब्जा तोके पनि सिर्सियावासीले उक्त मुआब्जाको मूल्य कम भएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको सङ्घर्ष समितिका सदस्य विजय तिवारीले बताए।

प्राचीन बस्तीको रूपमा रहेको सिर्सिया बस्तीमा विद्यालय, अस्पताल, मठमन्दिर, पोखरी, प्रहरी चौकीलगायतका पूर्वाधारहरु रहेकाले सरकारले बस्ती अन्यत्र सारी पूर्वाधारसहितका बस्ती बसाउनुपर्ने उनीहरुको माग रहेको छ।

तीन सय घरपरिवार रहेको सो बस्ती ६२ बिघा क्षेत्रफलमा फैलिएको छ भने त्यसमध्ये १५ बिघा क्षेत्रफलमा विभिन्न पूर्वाधारहरु रहेका छन्।

सङ्घर्ष समितिले चलनचल्ती भाउमा जग्गाको मुआब्जा दिनुपर्ने वा पूर्वाधारसहितका बस्ती बसाउनुपर्ने माग राखी लामो समयदेखि गर्दै आएको आन्दोलन आइतबारदेखि १२ घण्टामा परिणत भई अनिश्चितकालका लागि भएको छ।

प्रकाशित मिति: : 2020-01-07 02:31:20

प्रतिकृया दिनुहोस्