गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेपाण्डेसहित गुठी संस्थान जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, विचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र उनका छोरा सत्रुधन जयसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
धनुषाको साविक भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठी संस्थानको जग्गामा कीर्ते मोही खडा गरी मुआब्जा वितरण गरी विचौलिया र आफूले समेत कमिसन लिएको आरोपमा उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
दुई जना मोही खडा गरी कार्यालयले मुआब्जा भुक्तानी दिएको र विचौलियाले उनीहरुसँग कमिसन लिई कर्मचारीलाई पनि बाँडेको देखिएको अख्तियारको भनाइ छ। अख्तियारले कार्यालय प्रमुख पाण्डेविरुद्ध १९ लाख ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको छ।
त्यस्तै गुठी संस्थान जनकपुरका तत्कालिन सहायक प्रशासक मनोजकुमार आचार्यले ६ लाख ५० हजार, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले ४ लाख ३० हजार रुपैयाँ, विचौलिया सुमनकान्त ठाकुरले पटक–पटक गरी ६३ लाख ३६ हजार ६६७ रुपैयाँ लिएको अख्तियारले जनाएको छ। ठाकुरले मोहीलाई मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी मोहीलाई दबाबमा पारी कर्मचारीहरुलाई प्रलोभनमा राखी लिनेखाने गरी घुस लिएको अख्तियारको भनाइ छ।
नक्कली मोही गायत्री देवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट रकम लिई विचौलिया सुमनकान्त ठाकुरलाई र गुठी संस्थानका कर्मचारीलाई कमिसन दिएका थिए।
गुठी संस्थान जनकपुर कार्यालयले २०६९ जेठ १६ गते गायत्रीदेवीलाई ७७ लाख १ हजार ६६७ रुपैयाँ र असार २७ गते सत्रुधनलाई १२ लाख ५० जार रुपैयाँ भुक्तानी गरेको थियो। सत्रुधनले लिएको १२ लाख ५० हजार रुपैयाँमध्ये ठाकुरले विचौलियाको भूमिका निर्वाह गरिदिएवापत ७ लाख ३५ हजार रुपैयाँ लिएका थिए। ठाकुरले लिएको रकम गुठीसंस्थानका कर्मचारीसम्म पुगेको अख्तियारले जनाएको छ।
त्यस्तै गायत्रीदेवीले लिएको ७७ लाख १ हजार ६६७ रुपैयाँ मुआब्जामध्ये ठाकुरलाई कमिसनबापत ५६ लाख १ हजार ६६७ रुपैयाँ दिएकी थिइन्।