सवारी साधन चलाउँदा चप्पल लगाउन नपाइने !

यातायात व्यवस्था विभागले सवारी साधन चलाउँदा चप्पल लगाउन नपाइने व्यवस्था गरेको छ। विभागले एक सूचना जारी गर्दै  मुलुकमा भएको दुर्घटना न्यूनिकरण गर्न सवारीसाधन चलाउँदा चालकलाई अनिवार्य जुत्ता लगाउन आग्रह गरेको हो।

त्यस्तै लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा प्रयोग हुने रिसोलिङ गरेको टायरसमेत अगाडि राख्न पाउने नियम बनाएको छ। अघिल्लो भागमा कमजोर टायर राख्दा दुर्घटना हुने सम्भावना भएकोले कडाई गर्न लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

यता चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न समेत प्रतिबन्ध लगाएको छ। सिसा नै ढाक्नेगरी कुनै सामग्री टाँस्दा र झुण्ड्याउँदा सडकमा भएको बस्तु नदेख्दा दुर्घटना भएको विभागको ठहर छ। सवारी साधनको भित्र र बाहिरको सबै खालको स्लोगन राख्न पनि नपाइने व्यवस्था विभागले गरेको छ। स्लोगन अश्लिल र महिलालाई होच्याउने खालको राख्ने गरेको विभागले जनाएको छ।

यसबाहेक क्याबिनमा सजावटका सामान र म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ। त्यस्तै यात्रुबाहक सवारी चलाउने चालकको फोटो र अनुमतिपत्रको विवरणसमेत सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने व्यवस्था विभागले गरेको छ । लामो दूरीको यात्रुबाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने व्यवस्था गरेको विभागका महानिर्देशक हमालले बताए।

प्रकाशित मिति: : 2020-01-05 07:29:52

प्रतिकृया दिनुहोस्