१ किलो गालेको सुनसहित विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

बेसारको धुलो जस्तो बनाएर सुन तस्करी

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

दुबईबाट काठमाडौं आएका कासिव मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले यात्रु प्रस्थान गर्ने भवनको शौचालयबाट नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट प्रहरीले ४ वटा बेसारको प्याकेटजस्तो देखिने वस्तु बरामद गरेको हो। उक्त प्याकेट जाँच गर्दा सुन पत्ता लागेको प्रहरीले जनाएको छ।

उनीहरूले ४ वटा प्याकेटमा १ किलो गालेको सुन हालेर ल्याएका थिए।

दुबईबाट आएका कासिवले दिल्लीबाट आएका मुस्राफिनलाई शौचालयमा गएर सुन दिए पछि प्रहरीले शंका लागि उनीहरूमाथि अनुसन्धान गरेको थियो।

यसअघि स्याम्पुको बोत्तल, मलद्वारमा हालेर, फल्स बटम बनाएर सुन तस्करी हुँदै आएको थियो।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार बेसारको धुलो जस्तो बनाएर सुन तस्करी गर्ने गरेको भेटिएको हो।  उनले तस्करले नयाँ नयाँ जुक्ति लगाएर तस्करी गरे पनि विमानस्थलमा खटेको टोलीले नियन्त्रणमा लिने काम गरिरहेको दाबी गरे।

प्रकाशित मिति: : 2020-01-03 05:07:54

प्रतिकृया दिनुहोस्