काठमाडौंको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ५३७१ नंको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो। खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ। उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नागढुङ्गा विभिन्न जिल्लाबाट लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा चिनिन्छ।