अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भीषण आगो, एक हजार घर जलेर नस्ट

एक हजार बढी घर जलेर नस्ट हुनुका साथै १५ जनाको मृत्यु भइसकेको पुष्टी भइसकेको छ। 

दक्षिण–पूर्वी अस्ट्रेलियाको जंगलमा भीषण आगो लागेको छ। अस्ट्रेलियाली अधिकारीले दिएको जानकारी अनुसार आगोका कारण भिक्टोरिया राज्यको तटवर्ती क्षेत्रमा रहेको मल्लकुटा शहरमा ४ हजार स्थानीय तथा पर्यटक अझै फसेका छन्। 

आगोका कारण ३ लाख हेक्टर क्षेत्र प्रभावित भएको छ। एक हजार बढी घर जलेर नस्ट हुनुका साथै १५ जनाको मृत्यु भइसकेको पुष्टी भइसकेको छ। 

हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय सरकारले उद्धार कार्यमा तीब्रता ल्याएको छ। वन अधिकारीले छुट्टि मनाउन आएका पर्यटकलाई वरिपरिको क्षेत्र खाली गर्न आग्रह गरेका छन्। मल्लकुटाका स्थानीय जेसन सेल्मेसले भने, ‘घर छोडेर बाहिर निस्किनु बाहेक अरु उपाय छैन।’

आगोको झिल्कोका कारण आकाशको रंग सुन्तला भएको छ। भिक्टोरियाको आपतकालीन दलले मल्लकुटामा तीन वटा विशेष टिमलाई परिचालन गरेको छ। उनीहरू समुन्द्र तटमा ४ हजार व्यक्तिको सुरक्षामा खटिएका छन्। 

अग्नि विभागका प्रमुख स्टिभ वारिङ्टनले भने, ‘मल्लकुटा आगोले घेरिएको छ। मलाई लागिरहेको छ, यहाँका थुप्रै घर जलिसकेका छन्। पुरै क्षेत्र कालो देखिन्छ। उनीहरू डराएका छन्।’

समाचार एजेन्सीका अनुसार न्यु साउथ वेल्समा एक हजार बढी घर जलेर नस्ट भएको छ। आगोका कारण २ जनाको निधन भइसकेको बताइएको छ। यहाँको अवस्था नाजुक भएपछि सोमबार ४ राज्यमा आपतकालीनस्थित बनेको छ। यो क्षेत्रको तापक्रम ४० डिग्री माथि पुगेको छ। एक सय किलोमिटर प्रति घण्टाको तीब्रतामा हावा चलेपछि भिक्टोरिया राज्यको पूर्वी गिप्सल्यान्डमा तीस हजार मानिसलाई त्यो क्षेत्र खाली गर्न भनिएको छ। 
 

प्रकाशित मिति: : 2020-01-01 04:59:45

प्रतिकृया दिनुहोस्