दार्चुलाका मेयर महेन्द्रनगरको डान्स बारबाट युवतीसहित पक्राउ

बिएल संवाददाता

महेन्द्रनगर

दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन्। धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट आइतबार राति पक्राउ परेका हुन्।

 वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको छ।

डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो। प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताए।

‘डान्स बारमा दुई समूहबीच विवाद भएको थियो। एउटा समूहले मेयर धामीलाई पनि बोलाएको रहेछ। विवाद मिलाउन भनेर उहाँ डान्स बार पुगेको भन्ने कुरा आएको छ,’ डिएसपी चन्दले भने।
 

प्रकाशित मिति: : 2019-12-31 01:46:52

प्रतिकृया दिनुहोस्