विराटनगरमा अपांगले बनाएकाे सामानकाे बिक्रि केन्द्र खाेलिने

उनका अनुसार १५ वटा स्टल राखिएको प्रर्दशनीमा तीन लाख बढीको कारोबार भएको थियो।

विराटनगरमा तीन दिनसम्म चलेको अपांगता भएका व्यक्तिले उत्पादन गरेका सामग्रीको प्रर्दशनी आइतबार सकिएको छ। 

प्रदेश १ को सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपांग महासंघ प्रदेश १ ले संयुक्त रुपमा शुक्रबारबाट प्रर्दशनीको आयोजना गरेका हुन्। प्रर्दशनीमा प्रदेश भरीका अपांगता भएका व्यक्तिले व्यक्तिगत र विभिन्न उद्यममार्फत उत्पादन गरेका वस्तु राखिएका थिए।

यसको पाँच हजार बढीले अवलोकन गरेको राष्ट्रिय अपांग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल बस्नेतले जानकारी दिए। उनका अनुसार १५ वटा स्टल राखिएको प्रर्दशनीमा तीन लाख बढीको कारोबार भएको थियो। 

राष्ट्रिय अपांग महासंघ प्रदेश १ की अध्यक्ष पार्वता श्रेष्ठले अपांगता भएका व्यक्तिले उत्पादन गरेका सामाग्रीको बजारीकरण गराउने उद्देश्यले प्रर्दशनी गरिएको जानकारी दिइन् । प्रर्दशनको मुख्य आकर्षण धनकुटाको पाख्रिबासकी अपांगता भएकी ३१ वर्षीय जुना घिमिरेले उत्पादन गरेका सामग्री बनेका थिए।

स्थानीय स्तरमा पाइने सल्लाको पातबाट उत्पादन भएको हस्ताकलाका विभिन्न सामग्रीले सबैको ध्यान खिचेको थियो।

सल्लाको पातबाट टि–म्याट, गमला, घैला, करुवा, ठेकी,  पिंङजडा तथा अन्य विभिन्न हस्तकलाको सामग्री बनाएर उनले प्रर्दशनीमा राखेकी थिइन्। ८० रुपैयाँदेखि ५ हजारसम्म मूल्य पर्ने हस्तकलाको सामग्री उत्पादन गरिने घिमिरेले बताइन्। 

प्रर्दशनीमा सहभागी भएका अपाङ्गता भएका व्यक्तिले राज्यबाट थप सीपमुलक तालिम र आफूहरुको व्यवसायमा आर्थिक सहयोग माग गरेका छन्। झापा गौरदहा नगरपालिका–६ की शारीरिक अपांगता भएकी विष्णु श्रेष्ठले थप व्यवसाय विस्तारमा राज्यले अनुदानको व्यवस्था गर्नुपर्ने बताइन्।

उनले प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सीप मुलक तालिम दिएपछि गौरदहामा जुत्ता, चप्पलको उद्योग खोलेकी छन्। अहिले उनले जुत्ता, चप्पल र गुडिया उत्पादन गर्दै आएको जानकारी दिइन्। उनले सरकारले आर्थिक सहयोग तथा विभिन्न सीपमुलक तालिमको व्यवस्था गरिदिए शारीरिक रुपमा अपांगता भएका व्यक्तिलाई सहज हुने बताइन्।   

विराटनगरमा बिक्री केन्द्र स्थापना हुने

विराटनगर महानगरपालिकामा प्रदेश १ सरकारले अपांगता भएका व्यक्तिले उत्पादन गरेको सामाग्रीको बिक्री केन्द्र स्थापना गरिदिने भएको छ। 

चालु आर्थिक वर्ष भित्रमा विराटनगर महानगरपालिका क्षेत्रमा बिक्री केन्द्र प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरिदिने भएको अपांगता महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत बस्नेतले जानकारी दिए।

प्रदेश १ मा करिब एक सयको संख्यामा अपांगता भएका व्यक्ति तालिमपछि आफै उद्यम गरेर आत्मनिर्भर बनेका छन्।

‘शारीरिक अपांगता भएका व्यक्ति पनि आफूले सक्ने काम गरेर यही समाजमा आत्मनिर्भर भएर बाँचेका मात्रै होइन अरुलाई प्रेरणाको स्रोत बनेका छन्,’ बस्नेतले भने, ‘त्यही भएर अब अपांगता भएका व्यक्तिले उत्पादन भएको बस्तुको विक्री हुदैन भन्ने समस्याको समाधान हुँदैछ।’ 

उत्पादन गरेका वस्तुले बजार नपाइरहेको अवस्थामा सरकारले खोलिदिने बिक्री केन्द्रले सहज हुने उनको भनाइ छ । उनले चालु आर्थिक वर्ष भित्रमै केन्द्र स्थापनाको काम जानकारी दिए ।

अपांगता भएका व्यक्तिले उत्पादन गरेका सम्पूर्ण सामग्री बिक्री केन्द्रमा ल्याएर बिक्री गरिने महासंघकी प्रदेश अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘उत्पादन गरेका वस्तु बिक्री हुँदैन कि भन्ने समस्या हट्ने छ,’ उनले भनिन्, ‘मिहिनेत र लगानी खेर नजाने भएकाले अब अपांगता भएकाले ढुक्क भएर उत्पादन गर्दा हुन्छ ।’  
 

प्रकाशित मिति: : 2019-12-30 08:02:38

प्रतिकृया दिनुहोस्