पर्यटक भिसामा प्रवेश गरेर नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका १२२ चिनियाँलाई ५ दिनको म्याद थप गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले काठमाडौैंको मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरुलाई तारकेश्वर १ मनमैंजु, महाराजगन्ज बुढानीलकण्ठ ३ का ९ वटा घरमा छापा मारी पक्राउ गरिएको थियो।
सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चिनियाँ नागरिकका साथबाट बरामद ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, ९८ थान सीपीयु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड र ६७ वटा पासपोर्ट सार्वजनिक पनि गरेको छ।
ब्युरोका निर्देशक डीआईजी निरजबहादुर शाहीले चिनियाँ अधिकारीको जानकारीका आधारमा पछिल्लो ३–४ महिनादेखि सक्रिय रुपमा आपराधिक क्रियाकलापमा संलग्न चिनिया नागरिकको खोजीमा लागेको जानकारी दिए।
उनीहरुलाई नेपालको प्रचलित कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको डीआईजी शाहीले बताए। डिआईजी शाहीले अनुसार चिनियाँ पक्षले नेपाल प्रहरीलाई औपचारिक रुपमै धन्यवाद दिएको बताए।
चिलीको सान्टियागोमा भएको इन्टरपोलको ८८ औं महासभामा एनसीबी बेइजिङ र एनसीबी काठमाडौंका प्रमुखबीच सीमापार साइबर अपराधबारे जानकारी आदानप्रदान गरेअनुसार नेपाल प्रहरीले सूचना विकास गरेको थियो। त्यसैअनुसार चिनियाँ प्रहरीको समेत सहयोगमा प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको हो।