नेपालीमाझ निकै घुलमिल हुन रुचाउने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा फलोअर्स बढाउने रमाइलो काइदा रचेकी छन्। हालसम्म ट्वीटरमा साँढे ९ हजारबढी फलोअर्स भएका यान्छीले आफ्नो ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट उपलब्ध गराउने भएकी छिन्।
राजदूत होउले मंगलबार बिहान चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित ट्वीट गरेर उक्त कुराको जानकारी दिएकी हुन्। जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट धेरै लाइकका आधारमा टप ५ जनालाई २–२ वटा चलचित्र महोत्सव उद्घाटन समारोहको टिकट दिने घोषणा गरेकी छिन्।
'चिनियाँ चलचित्र महोत्सवको उद्घाटन समारोह २७ डिसेम्बरमा काठमाडौंमा हुँदैछ।' राजदूत होउले लेखेकी छिन्‘ मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस्।'
यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छिन्।
२७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा , लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ।