अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीविरूद्धको महाअभियोग प्रक्रियालाई अगाडि बढाइरहेकी सभामुख न्यान्सी पेलोसी र संसदमा इन्टेलीजेन्स कमिटीका अध्यक्ष एडम सिफलाई मु्द्दा हाल्ने चेतावनी दिएका छन् । उनले आफ्ना वकिलहरूलाई मुद्दा हाल्नका लागि भनिसकेको खुलासा पनि गरेका छन् ।
वासिङटन डीसीमा आयोजित भ्यालुज भोटर समिटलाई सम्बोधन गर्दै उनले पेलोसी र सिफलाई 'खराब मान्छे' भन्दै तिनीहरूबिरूद्ध मु्द्दा हाल्ने तयारी गरिरहेको बताए । जुनसुकै हालतमा मुद्दा हाल्ने बताउँदै उनले भने, ' हारे पनि अमेरिकी जनताले यस बारेमा बुझ्नेछन् ।'
यो पनि हेर्नुहोस्
स्पेनको म्याड्रिडमा नेपाली उत्पादन
उनले ती दुबैले अमेरिकालाई ढाँटिरहेको आरोप लगाउँदै उनीहरूविरूद्ध महाअभियोग लगाउनुपर्ने बताए । उनले अगाडि थपे, ती दुबै अमेरिका लागि खतरा हुन् ।
डोनल्ट ट्रम्प आफ्ना विरोधीहरूलाई मुद्दा लगाएर काबुमा ल्याउन माहिर मानिन्छन् । उनले यसअघि पनि आफ्ना विरोधीहरूलाई तह लगाउन यो अश्त्र प्रयोग गरिसकेका छन् ।
उनको अमेरिकी राष्ट्रपतिको कार्यकालको पहिलो दुई वर्ष अदालत धाउँदै बितेको छ । उनले ह्वाइस हाउसलाई नै एक झगडियाको घरजस्तो बनाएका छन् । उनले मुद्दा लड्नका लागि जुलियानीलगायततका एक दर्जन दक्षिणपन्थी वकील राखेका छन् ।