पिएसएलको ड्राफ्टमा सन्दीप, पारससहित ८ खेलाडी

बिएल

पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा ८ खेलाडी परेका छन्। पिएसएलको आगामी संस्करणका लागि सन्दीप लामिछाने प्लाटिनम् क्याटेगोरीको प्लेयर ड्राफ्टमा समावेश हुँदा थप ७ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन्।

पिएसएलको सिल्भर ड्राफ्टमा राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, बलिङ अलराउन्डर सोमपाल कामी, ब्याटिङ अलराउन्डर आरिफ सेख, उपकप्तान दीपेन्द्र सिंह ऐरी, पूर्व कप्तान पारस खड्का, यु १९ कप्तान रोहित पौडेल र अलराउन्डर सरद भेसवाकर परेका छन्।

पिएसएलको आगामी सिजन २०२० को फेब्रुअरीदेखि मार्चभित्र आयोजना हुने पिसिबीले जनाएको छ। प्लेयर ड्राफ्टबाट छनोट हुने सन्दीपबाहेक कुनै पनि नेपाली खेलाडीले आफ्नो पहिलो विदेशी फ्रेन्चाइज लिगका रूपमा पिएसएल खेल्नेछन्। पारसले टी १० र सोमपालले क्यारेबियन प्रिमियर लिग खेलिसकेका छन्।

पिसिबीले पिएसएलको आगामी सिजनका सबै खेल पाकिस्तानमै आयोजना गर्ने जनाएको छ।

पाकिस्तान सुपर लिगको एउटा टिममा १६ देखि अधिकतम १८ खेलाडी हुनु पर्ने नियम रहेको छ।

त्यसमध्ये प्लाटिनम, डायमण्ड, गोल्डबाट समान ३/३ जना, सिल्भर क्याटेगरीबाट ५ जना, २ जना इमर्जिंग क्याटेगरीबाट तथा २ जना सप्प्लिमेन्त्ट्रिबाट ( अप्सनल ) राख्नु पर्छ।

सबै टिमहरुले पहिलो ९ खेलाडी छनोट गर्दा ३ जना विदेशी खेलाडी छनोट गर्नुपर्नेछ। १६ जनाको टिममा ५ जना विदेशी खेलाडी तथा ११ जना लोकल खेलाडी हुनु पर्नेछ भने १८ जनाको टिम भए ६ विदेशी र १२ लोकल खेलाडी राख्नु पर्नेछ।

कुन क्याटेगरीको खेलाडीको कति मुल्य ? 

सन्दिप लामिछाने रहेको प्लाटिनम क्याटेगरीको खेलाडीको मूल्य ड्राफ्टमा सबै भन्दा उच्च रहेको छ। यदी सन्दिप छनोट भए  १ लाख ६० हजार देखि २ लाख ५० हजार डलरसम्म पाउनेछन्।

सन्दिप बाहेक अन्य नेपाली खेलाडीहरु रहेको सिल्भर क्याटेगरीको खेलाडीको मूल्य २४ हजार डलर देखि ४० हजार डलर रहेको छ। 

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ टिम रहेका छन्। गत सिजन लिगको उपाधि क्वेटा ग्ल्याडीएटर्सले जितेको थियो।

पाकिस्तान सुपर लिगको पुरा सिजन यो पटक पाकिस्तानमै आयोजना गर्ने बताईएको छ। यस अघि अधिकांश खेलहरु युएईमा खेलिन्थ्यो भने अन्तिम खेलहरु पाकिस्तानमा गर्ने गरिएको थियो।

पीएसएलको ड्राफ्ट यही महिना हुनेछ।

 
प्रकाशित मिति: : 2019-11-18 14:47:44

प्रतिकृया दिनुहोस्