‘नमस्कार ! म युरी गागारिन’

नवीन अर्याल

काठमाडौँ
फोटो: गुगलबाट

भोल्गा नदीको किनारमा बसेको एउटा सानो तर सुन्दर बस्ती- स्मेलोभ्का।

अहिले विश्वभर चर्चामा छ। ५८ वर्षअघि यो गाउँ धेरैका लागि अपरिचत थियो।

१२ अप्रिल १९६१। रुसी समयअनुसार बिहानको १० बजेर ५५ मिनेट।

सारातोभा शहरदेखि २९ किलोमिटर पश्चिम पर्ने यही गाउँका एक किसान याकोभ लेसेन्को खेतीका लागि ‘ट्रयाक्टर’ चलाउँदै थिए।खेतभन्दा केही टाढाको झाडीमा ठूलो बिस्फोटसहित भयानक आवाज उनको कानमा ठोकियो।

एकछिन त उनी अतालिए।आँगोको मुस्लो आकाशतर्फ बाटो बनाउँदै राँकिदैथियो। उनले जब आफ्नो गर्धन आकाशतर्फ घुमाए, हैरान पार्ने अर्को दृश्य उनको आँखा अगाडि मडारिन पुग्यो। एक युवा प्यारासुटको सहयोगले तल झरिरहेका थिए। लाग्थ्यो- उनी कुनै जेट प्लेनका पाइलट हुन्।

यो दृश्य स्कुल पढ्ने दुई स्थानीय बालिकाले पनि देखेका थिए। उनीहरू चिच्याउँदै बिस्फोट भएको स्थानतर्फ दौडिरहेका थिए।

यत्तिकैमा प्यारासुटबाट भूइँमा बजारिएका ती व्यक्तिले आफ्नो हेलमेट माथि उघारे। र, आफ्नो चिरपरिचित मन्दमुस्कानले परिचय दिए– ‘नमस्कार! म युरी गागारिन। पहिलो अन्तरिक्ष यात्री।’

केही वर्षअघि रुसी समाचार संस्थालाई दिएको अन्तर्वार्तामा तातियाना माकारिचेभाले भनेकी थिइन्- ‘उनले हामीलाई चकलेट बाँडे।केही समय आफूसँगै बस्न आग्रह गरे।केही समयपछि मानिसहरूको भीड लाग्ने दावी गरे।'

तातियाना तिनै स्कुले बालिका हुन्, जसको भेट गागारिनसँग स्मेलोभ्काको त्यही ठूलो फाँटमा भएको थियो।उनी भन्दै थिइन्, ‘नभन्दै केही समयपछि कार र बसमा उनलाई हेर्न आउनेको ताँती लाग्यो। उनीसँग फोटो खिचाउनेको भीड जम्मा भयो।’

युरी अन्तरिक्षको भ्रमणमा निस्किँदा उनको परिवारलाई यो मिसनको विषयमा पत्तै थिएन। कान्छी छोरी युरीभनाको केही महिनाअघि मात्र जन्म भएको थियो।



प्राचीनकालको हिन्दु धर्म, के आजभन्दा बेग्लै थियो?



युरी पूरा तयारीसहित घरबाट निस्किन लाग्दा श्रीमती भेलेन्टिनाले सोधेकी थिइन्- ‘टाढै जान लागेजस्तो छौ नि?’

युरीको जवाफ थियो- ‘हो! टाढा। निकै टाढा। लामो व्यवसायिक भ्रमणमा।’

अन्य रुसी सर्वसाधरणझै परिवारले पनि रुसको सरकारी समाचारबाट युरी गागारिनको सफल अन्तरिक्ष यात्राको समाचार सुनेका थिए।

दंग! यसै दंग।

यसको पुष्टी केही घण्टाभित्रै भयो। जब रुसी अधिकारीहरू गाडीको लावालस्करसहित परिवारका अन्य सदस्यलाई लिन घरै आइपुगे।

१ घण्टा ४८ मिनेट अन्तरिक्षबाट पृथ्वीको गोलचक्कर लगाएर घर फर्किएका युरी एकाएक ‘राष्ट्रिय हिरो’ को रुपमा उदाइसकेका थिए। स्मेलोभ्कादेखि मस्कोको दूरी करिब साढे ७ सय किलोमिटर पर्छ। दुई दिनको लामो यात्रापछि युरी मस्को आइपुग्दा उनलाई लेनिनग्रादमा स्वागत गर्नेको भीड थियो। लाखौं रुसीहरू उनको स्वागतका लागि लेनिनग्रादमा उपस्थित थिए। तत्कालिन रुसी राष्ट्रपति निकिता ख्रुश्चेभ ‘राष्ट्रिय हिरो’ लाई पहिलोपल्ट सम्मान गर्दा निकै भावुक देखिन्थे। उनले आफ्नो रुमालले आँशु नै पुछेका थिए।

यतिबेला अमेरिका र (तत्कालिन) सोभियत संघबीच राज्य व्यवस्थालाई लिएर शीतयुद्ध चलिरहेको थियो। उनीहरू ठूलो मञ्चमा एक-अर्कालाई ‘तल’ देखाउन कुनै कसर बाँकी राख्दैन्थे। ५०-६० को सुरुवाती दशकमा अमेरिकासँग विश्वव्यापि प्रचारका लागि हेनरी फोर्ड र अल्बर्ट आइन्स्टाइनजस्ता विश्वविख्यात व्यक्ति थिए।

युरीको सफल अन्तरिक्ष यात्राअघि सोभियत संघसँग आफ्नो ‘कम्युनिष्ट मेनिफेस्टो’ बाहेक चर्चा गर्ने अर्को कुनै बलियो हतियार थिएन। त्यसैले ख्रुश्चेभका लागि युरीको सफलताले ठूलो अर्थ राख्थ्यो र राख्यो पनि।

युरी १२ अप्रिल १९६१ मा रुसी समयअनुसार बिहानको ९ बजेर ७ मिनेटमा ‘भोस्टोक-१’ विमानमार्फत अन्तरिक्ष यात्रामा निस्किएका थिए। जुन विमानको डिजाइन रुसका चर्चित वैज्ञानिक सर्गेइ कारालिफले गरेका थिए।

यो अभियानका लागि करिब दुई हजार व्यक्तिले आवेदन भरेका थिए। जसमा दुई सयको छनोट भएको थियो। लामो प्रशिक्षणपछि दुई सयबाट २० हुँदै ६ जनामा झाँरिएको थियो।



राजा महेन्द्रको राज्याभिषेकमा नेपाल आएका भुटानी प्रधानमन्त्री जिग्मे, जसको हत्या फुन्चोलिङमा भयो



कारालिफले ठूलो अन्डाको आकारमा डिजाइन गरेको ‘भोस्टोक-१’ विमानको थुप्रै विशेषता थियो। विमानको ‘क्याप्सुल’मा एक मात्र चालक अटाउँथे। र, यो सानो आकारको थियो। युरीको उचाइ ५ फिट २ इन्च मात्र थियो। यसले उनलाई सहयोग नै पुर्यायो।

४ वर्षअघि ‘लाइका’ नाम गरेको कुकुरलाई अन्तरिक्ष यात्रामा पठाउँदा भएको दुर्घटनाका कारण वैज्ञानिक कारालिफ कुनै जोखिम उठाउन चाहदैनथे। त्यसैले उनले पहिलो अन्तरिक्ष यात्रीको चुनाव गर्दा विमान चालकको सुक्ष्म अध्ययन गरेका थिए।

यसमा उनले विमान चालकको सुझबुझ र प्रतिकुल अवस्थामा पनि धैयर्तापूर्वक काम गर्न सक्ने मनोविज्ञानलाई महत्व दिएका थिए।युरीको पारिवारिक पृष्ठभूमीले पनि उनलाई विश्वको पहिलो अन्तरिक्षयात्री

बनाउन ठूलो सघाउँ पुर्याएको थियो।

युरीको जन्म ९ मार्च १९३४ मा क्लुसनारमा भएको थियो। उनको बुवा काठको काम गर्थे र आमा डेरीमा। उनी गागारिन परिवारको चौथोमध्ये तेस्रो सन्तान थिए।उनी जन्मिएको ५ वर्षभित्रै दोस्रो विश्वयुद्ध घोषणा भएको थियो।

सन् १९४१ मा जर्मनीको नाजी सेना क्लुसनारस्थित उनको गाउँमा प्रवेश गर्दा उनी भर्खर स्कुल भर्ना भएका थिए। जर्मनी सेनाले उनको दाजु भालेन्टिन र दिदी जोयालाई दुई वर्षका लागि पोल्यान्डको श्रम शिविरमा पठाउने निर्णय गरेसँगै उनको पढाई पनि ठप्प भयो।

सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त नहुँदासम्म गागारिनको परिवारले नाजी सेनाबाट थुप्रै यातना भोग्नु पर्यो।



बेलायतकाे घाेषित नीतिका कारण 'भिक्टोरिया क्रस' नपाएका करवीर पुन



१९५० मा उनी मस्को नजिकै लुबरेस्की जिल्लामा रहेको एउटा ठूलो स्टिल कम्पनीमा इस्पात पगाल्ने काममा सक्रिय भए। यही उनले राती आफ्नो अध्ययनलाई पनि सुचारु राखे।

करिब १० वर्ष यो काममा सक्रिय रहँदा उनको शरीर आँगोको राप झेल्न सक्ने भइसकेको थियो। जुन अन्तरिक्ष यात्रीको रुपमा उनको चयनका लागि पछि ठूलो बरदान सावित भयो। यसअघि अन्तरिक्ष यात्रामा ‘लाइका’ को निधन तापक्रम झेल्न नसकेर भएको थियो।

अन्तरिक्ष यात्राका लागि अन्तिम समय युरीसँगै अर्का विमान चालक घेर्मन टिटोभको पनि छनोट भएको थियो। टिटोभका बुवा शिक्षक थिए। उनलाई अन्तिमसम्म लागेको थियो, अन्तरिक्ष यात्राको हकदार म मात्र हूँ।  

खु्रश्चेभले शिक्षक परिवारभन्दा पनि किसान परिवारको छोरालाई अन्तरिक्ष यात्राका लागि छानेको आरोप लगाउने थुप्रै भेटिन्थे, त्यतिबेला। तर, टिटोभले आफू मर्नुअघि स्वीकार गरेका छन्- पहिलो अन्तरिक्ष यात्राका लागि युरी गागारिनको छनोट उपयुक्त थियो।'

अन्तरिक्षबाट पृथ्वीको गोल–चक्कर लगाएर फर्किने बेला युरी झण्डै दुर्घटनामा परेका थिए। पृथ्वीतर्फ फर्किने क्रममा उनी बसेको कक्ष र त्यसलाई जोड्ने सहायक रकेटबीचको तारविच्छेद हुन सकिरहेको थिएन। यी दुई विच्छेद हुनु अनिवार्य थियो। तर, त्यो नहुँदा युरी बसेको ‘क्याप्सुल’ लगभग आगोले घेरिएको थियो। प्राविधिक समयभन्दा करिब १० मिनेटपछि मात्र उनी बसेको कक्ष र सहायक रकेटबीचको तार विच्छेद भएको थियो। २७ वर्षीय युरी यतिबेला पनि मन्दमुस्कानमा देखिन्थे।

स्टिल कम्पनीको जागिर छोडेपछि युरी साराटोभ शहरमा अवस्थित टेक्निकल स्कुलमा भर्ना भए। यहाँ उनले विमान उडाउन सिके। सन् १९५५ मा स्नातक पूरा गरेपछि उनी आर्मीमा भर्ना भए।

यसपछि उनको जीवनले कोल्टे फेर्यो।

केही वर्षको तालिमपछि उनी कुसलताका साथ युद्ध विमान उडाउन सक्ने भइसकेका थिए। उनले उडाएको पहिलो विमान थियो, मिग-१५।

दुर्भाग्य, युरीको निधन ३४ वर्षमा हुँदा उनी मिग-१५ नै उडाइरहेका थिए। २७ मार्च, १९६८ मा विमान दुर्घटनामा उनको निधन भयो। अहिले पनि उनको निधनलाई लिएर शंका गर्नेको कमी छैन।

श्रद्धाञ्जली! युरी गागारिनप्रति।

-एजेन्सीहरूको सहयोगमा।


प्रकाशित मिति: : 2021-04-12 09:30:00

प्रतिकृया दिनुहोस्