ख्वामित, मेरो वक् बन्द भएको छ !

बिएल

ख्वामित म बोल्दिनँ,
तपाईँसँग वार्ता गर्दिनँ 
किनकि मेरो वक् बन्द भएको छ
कस्तो संयोग !
तपाईँले हाम्रो सीमा मिच्नु,
हाम्री आमा बलात्कृत हुनु

मेरो वक् बन्द हुनु
एकैदिन परेछ ।
ख्वामित, किन किन म डराइरहेको छु
मेरो मुटु कामिरहेको छ
कुर्सीको भयले
मलाई निमोठिरहेछ
सत्य सत्य धरोधर्म
तपाईँसँग मेरो बोल्ने साहसै छैन
ए, डाक्टरहरु हो,
ए, वैद्यहरु हो
भन न
मेरो वक् त्यसै दिनदेखि किन बन्द भइरहेछ ?
ख्वामित, म पनि त अरु जस्तै
हजुरको दास न हुँ
हिजो पनि थिएँ
आज पनि छु
र भोलि पनि रहनेछु ।
यो दासले के नै बिगारेको थियो र ?
हजुरको इच्छा बमोजिम गरेकै थिएँ
महाकाली नदी पनि दिएकै थिएँ
सन्धि सर्पण गरेकै थिएँ
तपाईका अगाडि लम्पसार परेकै थिएँ,
तै पनि तपाईँ
रिसाउनु भयो र
हाम्रो आदिम भूमि कोतरेर
आफ्नो नक्सामा मिसाउनुभयो
म टुलुटुल हेरेर बसिरहेको छु ।
ख्वामित, यस्तो अत्याचार हुँदा पनि,
यस्तो जालझेल हुँदा पनि,
दिन दहाडै मुटु लुटिँदा पनि
म तपाईँसँग बोल्न सक्दिनँ
तपाईंसँग वैरभाव राख्न सक्दिनँ
किनकि
अस्ति भर्खर त हो मैले
किड्नीको डायलाइसिस गरेको
नजाने कुन डाक्टरले गर्यो
मेरो
वक् नै बन्द गरिदियो
त्यसैले म चूपचाप छु ।
ख्वामित, तपाईँसँग बात मार्न
साहस पनि त चाहियो
यो नाथे बिरामीसँग के साहस हुन्छ र ?
म सास फेरेको
तर
साहस नभएको,
बाँचेको तर वक् बन्द भएको
एक निरीह नेपाली हुँ ।
ख्वामित, म हजुरसँग पंगा खेल्न सक्दिनँ
म तपाइँको आँग खौरेर धूलो उडाउन नि सक्दिनँ
सेनालाई म युद्धको आदेश दिन
पनि सक्दिनँ
मेरो भूमिमा तपाईँका सेना
पसेदेखि
मेरा नौ नाडी गलेर
लत्रिसकेका छन्
त्यसैले म बोल्न सक्दिनँ 
मेरा वक् बन्द भइसकेको छ ।
मेरा पुर्खाले फिरिंगीलाई लखेटेर
रक्त थोपा ननिख्रिँदासम्म
खुँडा र खुकुरीको साँदले
यो सिमाना कोरेका थिएँ
तर अहिले
तपाईका सैनिकले बुट बजार्दा,
यो भूमिमा परेड खेल्दा पनि
मेरो रगत कत्ति उम्लिएको छैन
ख्वामित, रिसानी माफ होस्
म तपाईँसँग कुरा गरेर
मेरो भूमि फिर्ता गर भन्न सक्दिनँ
किनकि मेरो वक् बन्द भएको छ ।
म बोल्नै सक्दिनँ ।

-वोस्टन, अमेरिका

प्रकाशित मिति: : 2019-11-23 08:41:38

प्रतिकृया दिनुहोस्