आझ बिहान चाडै निन्द्राले छोड्छ। घरमा सबै जना आफ्नो आफ्नो बिछ्यौनामा बिहानीको मिठो निन्द्रामा मस्त छन्। म भने एक कप चिया हातमा लिएर टिभी हेर्न बैठक कोठा तिर लाग्छु।
आजकल टिभीमा पनि कुन गतिलो चिज हेर्न पाईन्छ र? मरेको र मारेको, दुर्घटना र लुटपिट, नारीमाथि शारीरिक र मानसिक दुराचार, खाली यस्तै यस्तै त हो।
त्यही पनि समय बिताउन टिभी नखोले के गर्नू? यस्तै सोच्दै म टिभी खोल्छु। नभन्दै टिभीमा केही छैन गतिलो कार्यक्रम। म खिटखिट खिटखिट च्यानल बदल्छु। धन्न नेपाल टेलिभिजनमा समाचार आईरहेको रहेछ। यही च्यानल लगाएर बिहानीको मिठो शान्त वातावरणमा म चियाको सुर्को लिँदै समाचार सुन्न बस्छु।
चाडै निन्द्राले छोडे पनि सितल बिहानीमा मन आज त्यसै फुरुङ्ग थियो। समाचार मात्र के लगाएको थिएँ अघि आफूले सोचे जस्तै विभत्सताको समाचार बाहेक अरू केही छैन। कता कोशी नदीमा बस झेरेर डुब्यो रे? बसमा रहेका सय जना यात्रुमा कसैको पनि शब फेला परेको छैन। राम राम! एक बिहानै के के सुन्न पर्छ यस्तो? मन एकाएक तुँवालो लागेको नरमाइलो दिन जस्तै हुन्छ। मन खंग्रङ्ग हुन्छ, नरमाइलो लाग्छ। बास्तवमा भन्ने हो भने समाचार सुन्ने भनेको नै नराम्रो खबर सुन्ने हो। आधा घण्टा भयो समाचार सुन्न बसेको दुइटा पनि गतिलो समाचार आएको हैन। एक बिहानै मन डिप्रेस जस्तो, कस्तो कस्तो भएर आउँछ। त्यै पनि म समाचार कै च्यानल लगाएर चिया सुर्काईरहन्छु।
टिभीमा यस्तै यस्तै समाचार प्रशारण भइरहन्छ। अगतिला समाचार सुन्दा सुन्दा आँखा टिभीमा भए पनि मन भने पत्तो नपाई बिस्तारै कता कता दौडी सकेछ। एक त त्यसै पनि बालखदेखि नै आफ्नो अस्थिर मन। एउटा कुरामा कैले ध्यान नलाग्ने। सानो हुँदा बुवाले ‘ल आऊ पढ्न’ भनेर बोलाईसँगै राखेर बडा ध्यान पूर्वक सिकाउनु हुन्थ्यो। पढ्दा पढ्दै बुवाले भनेको कुरा त धुँवा जस्तो उडेर कता बिलिन हुन्थ्यो कता। निकै बेर पढाई सके पछि बुवाले के बुझ्यौ त भनेर प्रश्न गर्दा अनि झसंग हुन्थे कि बुवाले भनेका एक सब्द पनि दिमाखमा अडेका छैनन्। बुवाले प्रश्न सोददा जवाफ दिन नसके पछि नराम्रोसँग गाली खान्थे। अहिले टिभी अगाडि समाचार सुन्न बस्दा, आफ्नो दिमाख उडेर कताकता पुगेको महसुस भई बाल्यकालको झलक्क याद आउँछ। आँखा टिभीमा छ तर दिमाख अघिको बस दुर्घटनाको समाचारमा अल्झिएर कोशी किनारै पुगी राखेको। तर मेरो सब-कन्सिअस माइन्ड अर्थात अर्धचेतन मनले भने झ्वाट्ट टिभीबाट मेधा भन्ने सब्द आएको सुन्छ अनि आँखाले उनको तस्बिर टिभीमा देख्छ। म झसंग चेतनामा आउँछु। ओहो! कसरी? मेधै हो त? मैले फोटो निहाल्न खोज्दा खोज्दै समाचार सिद्दिन्छ। फोटो अलि मन खलबलाउने खालको नै थियो। हेत्तेरी! कस्तो ध्यान पनि कता गएछ। के समाचार रहेछ? के भएछ मेधालाई? अनेकौ प्रश्नहरु मनमा एकैपल्ट अल्झिन्छ। म च्यानल बदल्छु, मेधाको समाचारको खोजि गर्दै। तर दुर्भाग्यबस कुनै च्यानलमा पनि समाचार आएको छैन।
हरे! कस्तो मिस भयो, यस्तै सोच्दै मेरो दिमाख सोसल मिडियामा समाचार खोज्ने तिर जान्छ र म मेरो फोनमा फेसबुक खोल्छु।
मनमा नाना भाँतीका कुरा खेल्छन। मेधा र म सँगै खेल्दै हुर्केको। चंचली थिई बच्चैदेखि। केटाहरु त सानैदेखि कति पछि लाग्थे कती। आफूलाई कैले त डाहा पनि लाग्थ्यो उसको अघि पछि केटाहरु झुम्मिएको देख्दा। अनि सोच्थेँ के छ मेधामा त्यस्तो जुन म मा छैन? सायद त्यै चञ्चले र निडर बानीको कारणले होला उसलाई केटाहरुले त्यस्तो मन पराउने अनि उसले मैले भन्दा धेरै प्रगति गर्न सकेको कारण पनि त्यहि नै हुनुपर्छ, म आफूलाई उ सँग तुलना गरेर हेर्न पुग्छु। अनि लाग्छ, आफू त उसको अगाडि जहीको त्यहीँ। उ सँग त आफ्नो कुनै जोड नै नभए झैँ। त्यस्तो बेजोडको नमूना जस्तो मान्छेलाई आज के बिभत्स परेछ? उत्सुकताका साथसाथै चिन्ता पनि लाग्छ, मन भरंग हुन्छ। धेरै भएको थियो उ संग भेटघाट नभएको तर उसको अनुहार भने मेरो हृदयमा अझै ताजै छ।
समाजमा अरूभन्दा अघि बढेका महिलालाई अझै अघि बढ्न धेरै बाधा अड्चन आई लाग्छन्, सायद समाचारमा पनि त्यस्तै केहि होला भन्ने अनुमान लगाउँदै म समाचार पढ्नु अघि आफ्नै अनगिन्ती तर्क लगाउँछु।
फेसबुक खोल्न पाएको छैन फेसबुक को भित्ता भरि जताततै मेधाका फोटोहरु। मन सिरिङ्ग हुन्छ। हत्त न पत्त समाचार पढ्छु। उनीमाथि शारीरिक दुर्ब्यवहार भएको रहेछ। नराम्रो समाचार कति छिटो फैलन्छ, म सोच्छु। उनको बारेमा लेखेका हरेकको पोस्ट पढ्छु। सबैले तथ्य कुरा के हो जान्न भन्दा पनि पहिले आफ्नो आफ्नो तर्क पेस गरेका। कतिले क्रुर भाषामा मेधालाई गालि गरेका छन् त कतिले दुराचारीलाई। कतिले उनलाई पतित स्वास्नी मानिस, सजाय त उसले पाउनुपर्छ भन्दै कुर्लेका। अनि कति लोग्ने मान्छे भन्दैमा आफ्नो ईज्जतको पनि बेपर्वाह गर्ने सुँगुर जेलमा सड्नु पर्छ भन्दै तातिएका। सबैको आफ्नो आफ्नो विचार छ तर खास के भएको हो त्यो ‘पर्ने र गर्ने’ लाई मात्र थाहा छ। बाँकी सबै अनुमानित कुराहरु। आखिरमा जे भए पनि उनी माथि ठूलो संकट भने आइलागेको हो, त्यसमा कुनै सन्देह छैन।
महिलाप्रति शारीरिक दुर्ब्यवहार दुनियाँमा सधै हुँदै आइरहेको कुरा हो। कतै फकाएर, कतै लोभ र प्रलोभनमा पारेर, कतै जबर्जस्ती शारीरिक हिंसाका साथ त कतै जालझेल र छलकपटका सिकार बनाएर, अनेकौ प्रकारले महिलालाई पुरूषहरूले दुर्ब्यवहार गरेको समाचार सधै आई नै राखेको हुन्छ। कति महिलाहरु आफ्नै घरको चार दिवार भित्र पनि असुरक्षित छन्।
इतिहासलाई पल्टाएर हेर्ने हो भने हरेक जाति, रंग र भेष भुषाका समुदायमा महिलाको दर्जा सधै तल छ। दुनियाँमा सधै लिङ्ग भेद छ। अझै भन्ने हो भने प्रकृतिले नै नारीलाई मानसिक रूपमा कोमल र शारीरिक रुपमा कमजोर बनाएको हुँदा, नारी जातिले सधै पुरूषलाई आफ्नो आधारको रुपमा मान्दै आएको कुरा तथ्य हो।
आजसम्म पनि महिला जतिसुकै सक्षम भए पनि पुरूषको अगाडि आफूलाई समर्पण नै गरिरहेकी हुन्छे, यो नारीको प्राकृतिक स्वभाव हो। यसै कमजोरीका कारण आज नारीहरू पुरूषबाट लुटिन्छन्, बजारमा मोल लगाएर बिक्रि हुन्छन् - दुनियाँको यो दुःख लाग्दो बिडम्बना। तर, के गर्ने यस्तै छ दुनियाँ। तरै पनि गर्बका साथ यति चाहिँ भन्न सकिन्छ कि, दुनियाँमा सबै पुरूषहरू शारीरिक रुपमा बलवान र मानसिक रूपमा कमजोर, निकम्मा र कामुक हुँदैनन्। दुनियाँमा यस्ता पुरूषहरु पनि छन् जसले महिलाको नितान्त इज्जत गर्छन् र उनीहरुको हक, हित र संरक्षणको लागि सधै आवाज उठाउँदै आईरहेका छन्।
आज त्यही आदर्श पुरुषहरुको मानवीय विचारधाराका कारण नारीहरु स्वतन्त्र रुपमा हिँड्न र आफ्नो हक र मर्यादाका लागि आत्मबलका साथ् लड्न सकिराखेका छन्।
तिनै पुरूषहरूको उदारवादी सोचाईका कारण आज नारीहरु पुरूष समान हकको माग गर्न समर्थ भै राखेका छन्। विगतमा यस्ता शारीरिक दुर्ब्यवहारको कुरालाई मानिसहरु गोप्य राख्थे। समाजले पुरूषलाई दोष दिनुको सट्टा पीडित नारीलाई नै जिम्मेवार ठहर्याई समाजमा घृणाको रूपमा हेर्थे। परिणामस्वरुप पीडित महिलाहरू अरुले गरेको पापमा आफू लज्जित भएर आत्महत्या गर्न बाध्य हुन्थेँ। तर, अहिले समय बदलिएको छ। महिला आफ्नो हकको लागि खुलेआम मैदानमा उत्रने सामर्थ्य राख्छे अनि हजारौ सज्जन पुरुषहरुले यस्ता पीडित महिलालाई न्याय प्रदान गर्न आफू पनि डटेर लागि पर्छन्।
नारीको हकको आवाजलाई प्रोत्साहन दिने पुरुषहरुको कमि छैन यो दुनियाँमा तर यसका साथसाथै आफ्नो कामुकतालाई काबुमा राख्न नसक्ने सयौं नरपिचासहरुले लाखौ महिलाहरुको जीवन नर्क बनाएका छन्। कुनै धनीमानिको घरमा श्रम गरेर जीवन निर्वाह गर्न बसेका बालिकादेखि वृद्ध महिलासम्म, कसैको छोरी बुहारीदेखि कसैको स्वास्नीसम्म, बाटो हिँड्ने केटीदेखि नरपिचासको सिकार भई बेस्यालयमा बस्न बाध्य भएका महिला अनि बालिकासम्म, सबैलाई गिद्दे नजर लगाउने पुरुषहरुको बिगबिगीलाई आजका उदारवादी समाजका भद्र पुरुषहरुको समुदायले अझै केहि गर्न नसकेको देख्दा पुरा पुरुष जातिमा नै कलंक लाग्न पुगे झैँ लाग्छ।
आफू भित्रको जनावरलाई रोक्न नसक्ने कामुक पुरुषहरु जो जतिसुकै ईज्जतदार, सफल भनेर कहलिए पनि दुइ मिनेटको सन्तुष्टिको लागि आफ्नो जिन्दगी भर लगाएर कमाएको ईज्जतलाई पनि चुर पार्न पछि हट्दैनन् भने यस्ता मानिसहरुलाई के पुरूष भन्नु? ती त पशु हुन्, म आफैं गुनगनाउँछु।
हुन त कयौं ठाउँमा महिला पनि उत्तिकै दोषको भागि हुन्छन्। तर, बलवानको अगाडि निर्बलको के कुरा? पुरूषहरू त परापूर्ब कालदेखिनै नारीहरु भन्दा बलवान र नारीहरु माथि अधिकार जमाउँदै आएका हुन्।
अनि प्रकृतिले पनि उनीहरुलाई नारीहरु भन्दा शक्तिवान बनाएको छ भने उक्त पुरुषहरुले नारीहरुलाई के दोष दिनु? बलवानले निर्बललाई दोष दिनु भनेको त निकम्मापन हो। त्यसैले कुनै पनि यस्ता शारीरिक हिंसाको कुरामा पुरूषहरु नै बढी दोषी हुन्छन् भन्ने सोच्दै मैले पनि आफ्नो तर्क आफैंसँग राखे।
अनि फेरि मेरो ध्यान मेधा तिर जान्छ। बिचरी मेधा! म मनमनै भन्छु। मेधाको मनस्थितिमा यस घटना कस्तो प्रभाव परिरहेको होला? उसलाई उसको परिवार र श्रीमानबाट आवश्यक आत्मबल, सहयोग र हौसला प्रदान भएको होला कि नहोला? हजारौ तर्कनाले मन खल्बलिएर आउँछ। हरेक मानिसको आफ्नो व्यक्तिगत जीवन हुन्छ, आफ्नो आफ्नो ईज्जत हुन्छ। अन्यायमा परेको मानिसलाई मानसिक रुपमा हौसला र सहनोभूति दिनु, कानुन रुपमा मदत गर्नु अत्यावस्यक हुन्छ र यो मानवीय महान कार्य पनि हो। तर, यहाँ त मानिसहरुले अनावस्यक धज्जी उडिरहेछन मेधाको ईज्जतको। आज अरुको लागी ऊ अनावश्यक चर्चाको बिषय बन्न पुगेकी छ। मानिसहरुले सही के हो गलत के हो अनुसन्धान नै नगरी मनगडन्ते कुरामा नाना भाँतीका लान्छना लाउँदै दुनियाँ हल्लाईरहेका छन्। फेसबुकको भित्ता भरी मेधाका र उनलाई दुर्ब्यवहार गर्ने पुरूषको राम्रादेखि नराम्रा सयौं फोटोहरू।
कयौंले मानिसहरुले यस घटनालाई एउटा हास्यास्पद गफ गर्ने बाटोको रुपमा लिएका त कयौंले यसलाई बादबिवादका रुपमा लिएका। कतिले सोसल मिडियाको भोटिङ सिस्टमको प्रयोग गर्दै को बढी दोषि भन्दै खेलको सुरूआत गरेका। कस्तो बिडम्बना, म सोच्छु। यता सर्बसाधारण मानिसको लागि कुरा गर्ने र तर्क बितर्कको माध्यम भैई मेधा भने उता मिडियाको लागि हट टपिक र यु टुबमा मिलियन भिउ बनाउने भाँडो। मनमा चिसो पस्छ। सबैलाई आफ्नै आफ्नै स्वार्थ प्यारो छ। यहाँ कसैलाई केही मतलब छैन मेधाको जीवन र मानसिकतामा यस्ता अनावश्यक प्रचार प्रसारले कस्तो प्रभाव पर्नेछ भन्ने कुराको। अनि म फेरि यसो सोच्छु मैले पनि त सबैले झैँ आफ्नो तर्क राखे। यस्तै हुन्छ आजकाल यहाँ, कुनै घटना घट्नु मात्र पर्छ बिना अनुसन्धानका खबरहरु हुरीले फैलाएको आगो झैँ राकिन्छ, अन्दाधुन्द फैलन्छ। आजको खबरले एक थोक भन्छ, भोलि फेरि अर्कै खबर आउँछ। अनि सोसल मिडियामा बेमुल्यका तर्कहरुको होडबाजी सुरू हुन्छ।
सबैले आफ्नो आफ्नो तर्क राख्छन्, केही छिन मै मिडियामा समाचारको सनसनी फैलन्छ। मिडियाहरु बेतोडले समाचारमा सक्दो अश्लिलता भर्ने प्रयत्न गर्छन्। जसले बढी अश्लिल समाचार प्रकाशित गर्न सक्छ उसको युट्यूवमा मिलियन भ्यूज हुन्छ।
पुलिसको जिन्दगी बित्छ एउटा काण्ड सुल्झाउन खोज्दा खोज्दै। कानुनबिदहरू कानुनको किताब पल्टाउँदा पल्टाउँदै जुग बिताई दिन्छन्। पीडित नारी कानुनविद र प्रहरी चौकीको ढोकामा धाउँदा धाउँदै मानसिक र शारीरिक सन्तुलन हराएर मानसिक अस्पतालमा भर्ना हुनुपर्ने स्थितिमा पुग्छे। अनि केही समय पछि मिडिया सामसुम हुन्छ, पुलिस चौकीमा फाइल अधुरो बन्द हुन्छ, अत्याचारी बौलाएको राँगो झैँ फेरि दोबाटोमा दौडन्छ। फेरि अर्को एउटा नारी लुटीन्छे। फेरि त्यही क्रिया प्रतिक्रिया दोहारिन्छ। ओहो! सोच पनि कहाँबाट कहाँ पुगेछ मन कस्तो खर्लंग हुन्छ। छ्या कस्तो तर्कना आएको यो मनमा पनि? यस्तै सोच्दै म टिभी बन्द गरी अर्को कोठामा जान्छु। मन अझै अस्थिर भए झैँ हुन्छ।
मेधाको मलिन अनुहार आँखाबाट हट्दैन न त उसलाई फोन गर्न सक्ने आँट नै आउँछ। यस्तै हुन्छ यहाँ आजकल सबैलाई आफ्नै आफ्नै स्वार्थ प्यारो छ। म पनि अरु झैँ मेधाको बारेमा केही छिन भाबुक हुन्छु, आबेगमा आउँछु अनि एकछिन तर्क बितर्क उठाउँछु। अन्त्यमा सबैले झैँ म पनि उनको बेदनालाई भुलेर आफ्नै दुनियाँमा हराउँछु, आफ्नै दिनचर्यामा व्यस्त हुन्छु। यहाँ यस्तै हुन्छ आजकल।