हरेक दिन कोठाबाट बाहिर निस्कँदा होस् वा भित्र पस्दा भित्तामा टाँसेको त्यही ठूलो फ्रेममा गएर आँखा अडिन्छ।
‘बेस्ट फोटो अफ द ईयर.’..अनि सँगै टाँसिएको अवार्ड पनि। यो फोटोग्राफर मेरो पेशा हुँदै होइन। कहाँको डाक्टर बन्न हिँडेको मान्छे आधा डाक्टर आधा फोटोग्राफर भएर निस्किएँ।
उसो त फोटो खिच्नु मेरो सोख मात्र हो। तर, फोटो खिच्दा जति सन्तुष्टि र खुसी मिल्छ त्यति खुसी मलाई अन्त कहीँ कतै मिल्दैन। त्यसैले त १ दिन होस् वा १ हप्ता क्लिनिकबाट फुर्सद हुने बितिकै क्यामरा बोकेर निस्किँहाल्छु।
३ वर्ष भयो एउटा धमिलो अनुहार मन मस्तिष्कमा गढेको। को हुन् उनी, कहाँबाट आएकी हुन् केही थाहा छैन। एउटा हातमा २/३ महिनाको बच्चा, अर्को हातमा रातो बाकस अनि त्यही रातो बाकसमा झुकेको शीर। यो भन्दा ठूलो विवसता के हुन् सक्छ र मान्छेको जीवनमा।
आखिर गल्ती के नै थियो र, सपना नै कत्रो थियो होला र? अलिकति आफ्नो खुसी, अलिकति परिवारको अनि थोरै आफ्नो सपना, धेरै परिवारको सपना।
त्यो भन्दा धेरै काखमा खेलिरहेको बच्चाको जिम्मेवारी, उफ्फ्स जीवन.....खुसी सपना आसा सबै त्यही रातो बाकसमा पोको पारेर आइपुगेको छ त्यो पनि अन्तिम गन्तव्यको लागि।
आजको दिन त मान्छेको आँखामा रातो बाकस अडिएको छ, प्रेम भरिएको छ, समवेदना भरिएको छ। तर, भोलिबाट तिनै आँखामा शंका, उपशंका र घृणा भरिनेछ। अनि तिनै नजर त्यो अबोधले लगाएको सेतो सारी र रित्तो सिउँदोमा गएर अडिनेछ। उनले चाल्ने प्रत्येक पाइलामा गएर अडिनेछ।
लोग्ने टोकुवा. अलच्छिनी आदि आदि....आफ्नो प्रिए मान्छे गुमाएर एक्लो भएकी त्यो जिउँदो लाशमाथि अनेकौ प्रश्न ओइरिनेछन् ...कठै।
अनि ती आमा जसले ९ महिना कोखमा राखेर जन्माएकी थिइन्,,आज तिनै आमाको कोख रित्तो भएको छ। यो ब्रह्माण्ड भरिको खुसीको रंगले यो संसारमा स्वागत गरेको छोरालाई सेतो कात्रोमा बेरेर सधैको लागि बिदाइ गर्दाको पीडा कस्तो होला?
भोलि ठूलो भएर आफूलाई साथ् देला, आफ्नो लासलाई काँध देला, दागबती देला भनेर हातको औला समाएर हिँड्न सिकाएर ठूलो बनाएको छोराको लाशलाई आफैंले काँध थाप्दा र दागबती दिँदा कस्तो होला?
सम्झिँदा त शरीर जिरिङ्ग हुन्छ, मुटु काप्छ, यी हातहरु काप्छन् अनि यीनै कापीरहेको औलाले समातेको कलमले कसरी बयान गर्न सक्छ र यो कोरा कागजमा?
आजभन्दा ३ वर्ष अगाडि चैतको महिना हुनुपर्छ। मामाको छोरालाई एरपोर्टमा रिसिभ गर्न जाँदा देखिएको अत्यन्तै कारूणिक दृश्य थियो यो।
अनि यीनै दृश्यलाई क्यामरामा कैद गरेर स्थापित भएको एउटा फोटोग्राफर म।
जुन दिनदेखि क्यामरा हात लाग्यो त्यो दिनदेखि आफन्तको साथ छुट्यो। जहिलेदेखि यो फोटोग्राफरमा लगाब बढ्यो तहिलेदेखि आफन्तसँगको आफ्नोपन कम हुँदै गयो, दुरी बढ्यो। यी सब कुरा नबुझेको कहाँ हो र मैले। तर, यो मनलाइ कसरी सम्झाउने, बुझाउने?
आज लगभग ४ वर्ष पछि मामाघर आइपुगेँ, त्यो पनि हजुरबुवा र हजुरआमाको चौरासीको लागि। फोटो खिच्दै थिए, अन्दाजी ३-४ वर्षको बच्ची अलि परको रूखमा अड्केको चंगा देखाउँदै निकाल्दिनु न अङ्कल भन्न थाली।
यती सानो मान्छेले चंगा किन खेलेको? धागो तान्दै सोधेँ। मेरो बाबालाई भेट्न नि। उहाँ ऊ त्यो माथि आकाशमा बस्नु हुन्छ नि तारा बनेर... चम्किरहेको तारा औलाउदै मुर्झाएको स्वरमा बच्ची बोल्न थाली।
ममीले भन्नुभएको त्यहाँबाट बाबा हामीलाई हेरिरहनु हुन्छ रे। जब जब मलाई बाबासँग कुरा गर्न मन लाग्छ म यसरी नै चंगा उडाउँदै पर आकाशमा पुग्छु र बाबासँग धेरै कुरा गरेर फर्कन्छु ।
‘अनि अङ्कल हजुरलाई थाहा छ.. भोलि पर्सि म ठूलो भएपछि मेरो बाबा मेरो लागि धेरै खेल्ने कुरा लिएर आउनु हुन्छ रे…’ खुसीले एकाएक पूर्णिमाको जून जस्तै धपक्कै बल्न थाल्यो बच्चीको अनुहार।
तान्दै गर्दा चंगाको धागो चुँडियो अनि धागोसँगै बच्चीको म प्रतिको विश्वास पनि।
बच्ची रूदै गएर आमालाई अंगालो हाली। आमा.....अरु कोही थिएन। ज्योति थिइन्।
बाबाको सरकारी जागिर वर्षै पिच्छेको सरूवा अनि आमा पनि बाबाको पछि पछि। नढाटिकन भन्नुपर्दा आमाले त मलाई जन्म मात्र दिएकी हुन्, श्वाश मात्र हालिदिएकी हुन्। बाँकि मासु र रहरका पोकाहरू भरिदिने त मेरी हजुरआमा हुन्।
काँधमा चढाएर हिड्ने त् मेरो हजुरबुवा हो। दाइ र म मामाघरको आँगनमा नै हुर्कियौ। तर, अलि ठूलो भएपछि चै होस्टेलले हुर्कायो। आफन्तबाट टाढा होस्टेलको कडा अनुशासन र नियमले गर्दा होला म भित्रको मलाई चिन्न भन्दा बेसी मैले होस्टेलका भित्ता र पालेलाई चिनेको थिएँ।
यीनै नियम कानुन र पत्थरको भित्ताबाट थोरै भएपनि आफूलाई टाढा राख्ने ठाउँ थियो मेरो मामाघर। अनि यही मामाघर नजिकै अलि पछि बसाई सरेर आएकी थिइन् ज्योति।
मभन्दा केही वर्ष सानी तर ब्यवहारमा कैयौं ठूली, परिपक्क मायालु, इनोसेन्स, सबैलाई सम्मान गर्ने, ख्याल गर्ने। वर्षौदेखि आफन्तको सामिप्यताबाट टाढा मेरो एक्लोपन दुर गर्न र यो जीवनमा उज्यालो छर्न भगवानले मेरै लागि बनाएका हुन्...यस्तै लाग्थ्यो मलाई। नलागोस् पनि कसरी..जब जब उनी मेरो सामू हुन्थिन् मात्र मेरी हुन्थिन्।
तर, समय सधै उस्तै रहँदो रहेनछ, झन् समय सँगै हिड्ने हामी मान्छे कसरी उस्तै रहन्छौ त। थाहा छैन गल्ती कसको हो, मेरो भाग्य या समयको? मेरी ज्योति मेरो पहिलो प्रेम... हेर्दाहेर्दै घुम्टो भित्र अरू कसैको नामको सिन्दुर लागाएर बिदा भईन्।
आफ्नो दृष्टीमाथि आफैंलाई विश्वास लागेन, विश्वास नगर्दैमा दृश्य कहिले पो बद्लिएको छ र? आज बद्लियोस त्...। अनि म लाचार भएर हेरिरहेँ। उनीबाट टाढा गराएकोमा आफ्नो भाग्यलाई धिक्कारिरहेँ ,गाली गरिरहे। तर, पनि उनी सामू गएर भन्न सकिनँ- म तिमीलाई माया गर्छु, मलाई छोडेर नजाऊ, भरोसा दिलाउन सकिनँ। दुःख-सुख जे जस्तो हुन्छ मिलेर बाँकी जीवन बिताउला भनेर।
भबिष्य बनाउनुपर्ने दबाबमा बर्तमानले मेरो रहर माया सपना सब निमोठ्यो। धुँवाको मुस्लोमा निसास्सिए झैँ मेरो वर्तमान निसास्सियो त्यो पनि मिठो भविष्यको कल्पनामा।
घरि घरि नलागेको पनि होइन उनी बिना मेरो जीवन पनि घडीको सुई रोकिए जस्तै रोकिन्छ। श्वास रोकिन्छ, मुटुको चाल रोकिन्छ। तर, म गलत साबित भएँ।
उनी बिना केही रोकिएन। न हावा, न समय, सबै आफ्नै रफ्तारमा बग्यो। अझ यो मुटुको धड्कन त बिछोडमा झन् बढ्यो। रोकियो त केवल चाहना र रहरहरू अनि उनीसँगै हुँदा पाउने खुसीहरू ।
अनि यिनै खुसी, रहर, सपना बिना म श्वास फेर्ने जिउँदो लास भएर बाँचिरहेको छु। त्यसैले त् उनी पछि यो मुटुमा कोही अटाएनन,कोही आउन सकेन। शायद यसैले होला मेरो प्रेम उनी प्रति कहिले रोकिएन, कम भएन। झन् बढिरह्यो, झ्याँगीरह्यो लहरा जस्तै। यी सबको साँची छन् मेरो भगवान र मेरो माइजु।
‘हो बाबु हजुरले अवार्ड जित्नुभएको फोटोको पात्र अरू कोही थिएन, ज्योति थिइन्। त्यो रातो बाकसलाई अंगालेर रूने उनै हुन्। त्यो रातो बाकससँगै आफ्नो रातो रंग इच्छा आकांक्षा भबिष्य जलाएर छोरीको लागि बाँचेकी छन्,’ माइजुको बोलीसँगै त्यो अवार्डको बोझले छाति निचारियो, मुटुको गति रोकियो, केही पलको लागि यो ब्रह्माण्ड पुरै रोकियो।
रोकिएन त केवल यो माया... यो त् झन् झन् बढिरह्यो त्यो पनि अनन्त अनन्त सम्मको लागि।