धादिङको नलाङ डाँडा (१३५० मि)मा अवस्थित श्रीवन नेचर क्याम्प हयाङआउट हुने उपयुक्त थलो हो। यहाँ परिवार र साथीसँग यात्रा गर्न सकिन्छ।
फेरि जाने भन्दाभन्दै १० वर्ष बित्यो। पहिलोपटक नलाङ घुमेको सम्झना बोकेर कयौं पटक मित्र अमृतजीसँग योजना बनाउँथे। तर, जाने दिन कहिल्यै आएन। कथा जस्तै भयो।अचानक गत हप्ता मित्र रविले नलाङ जाने प्रस्ताव राख्दा मन हर्षित बन्यो । मौसम अलिक धमिलो थियो, हामी जाने दिनसम्म आकाश खुल्ला भनेर मुख मिठ्यायौं हामीले।
दोस्रो पटक यात्राको साइत जुर्यो गत शुक्रबार। त्यो दिन हामी ५ भाई (पर्यटन ब्यवासायी गजेन्द्र माननधर, मित्र दिपक कंडेल, रवि, अमृतजी र म) कलंकीबाट बाहिरिँदा अपरान्हको ४ बजिसकेको थियो। धन्न त्यति जाम नभएकाले छिट्टै नागढुंगा छिचोल्न सफल भयौ।
करिब छ बजेतिर फुर्के खोला पुगेपछि गजेन्द्र दाईले कारलाई त्रिशुली पार गराए। हामी धाडिङबेसीतीर मोडियौं। बैरेनी बजार पुग्दा श्रीवन नेचर क्याम्पका कुँवर दाई जिप लिएर पर्खि बसेका थिए। अलमल नगरी जिपमा चढेर, उकालो कच्ची बाटो नाप्न थाल्यौं।
कच्चि नै सही पहिलाभन्दा बाटो निकै सुधार भएको रहेछ। मोटरबाइक, कार र जिपमा यात्रा गर्न सकिने भएछ। कच्ची सडकमा १० कि.मि उकालियौं।
हल्का उकालो र घुम्ति कटेर खिरे (थाँटी भञ्ज्याङ) पुगियो। राती ८ बजे नेचर क्याम्पको गेटमा गाडी रोकियो। अँध्यारोमा परपरका गाउँ बिजुलीको उज्यालोमा चम्केको देखियो। परपरका घरमा बिजुली बलेको देख्दा आकाशमा तारा चम्केजस्तै लाग्ने।
बिजुली बलेको देखेर एक चोटी कुलमान घिसिङलाई सम्झिएँ– धन्यबाद घिसिङ सर। सहर मात्रै हैन गाउँ घर पनि झलमल्ल छन्, आज। घिसिङ जस्तै सय जना इमान्दार राष्ट्र सेवकले अगुवाई गरेमा मुलुक कहाँ पुग्थ्यो होला।नेचर क्याम्पमा आगो ताप्दै गरेका मेघराज मामाजीलाई हामीले अभिनन्दन टक्रयायौं। हामी पनि अगेनाको राप वरिपरि बसेर चिकेन बार्बेक्यूमा अबेरसम्म रमायौं।
दशक अघि भेट भएका माइला दाई फेरि 'लज'मै भेट्दा खुशी लाग्यो। रमाइला शरण भाइ विदेश गएकाले उनलाई मिस गरे मैले। नलाङलाई देश–विदेशमा चम्काउने श्रेय मेघराज मामालाई जान्छ। उनले डाँडामा सन् २००१ मा नेचर क्याम्प खोलेपछि नलाङ चर्चित बनेको हो। हाल उनी ५८ वर्षका भए। उनी १५ वर्षकै उमेरमा पर्यटन व्यवसायमा होमिएका थिए। तिनताका मध्य हिप्पी युग थियो। 'हिप्पी'हरूको मुख्य केन्द्र झोंछे।
मामाले हामीलाई हिप्पी युगको कथा सुनाए–एक रात सुतेको डेढ रुपैयाँ र दुई रुपैयाँमा दालभात।
खल्तिमा पैसा नभए पनि महिनौ दिन पर्यटकहरु वेपर्वाह नेपालमा बस्थे रे। अमेरिकी, जर्मन, बेलायती र स्विस लगायत पश्चिमेली पर्यटकको क्रिडास्थल थियो झोंछे। हिप्पीहरू महिनौ दिन लगाएर युरोपदेखि मेसिडोनिया, टुर्कि, इरान, अफगानिस्ता, पाकिस्तान, भारत हुँदै नेपाल आउँथे। महिनौं यतै बस्थे।
४५ बर्ष अघिको काठमाण्डुको कथा सुनाए मामाले। उनले थुप्रै हिप्पीसँग संगत गरे। उनीहरुसँगै गोवासम्म पनि पुगे। ‘हिप्पीहरु शान्त वातावरण मन पराउने, सधै बम भोले भन्दै हिँड्थे’, उनले सुनाए, ‘गाँजाको चिलिम बेस्करी तान्थे।’
तिनताका झोछें हिप्पीको अखडा थियो। तिनका आनीबानी र दिनचर्याका कथा सुन्दा ४ दशक अघिको काठमाडौंको यथार्थ चित्र सपना जस्तै लाग्यो। सानैमा काठमाडौं छिरेका मामाले होटल तथा रेष्टुराँमा काम गर्दै पछि आफै 'लज' चलाए। पछि चितवनको सौराहामा जंगल लगुन रिसोर्ट सञ्चालन गरे। करिव दुई दशक अघि आफ्नै गाउँमा पर्यटक भित्र्याउन र समाज सेवा गर्न श्रीवन नेचर क्याम्प स्थापना गरे। उनले शिद्ध सेवा समाज संस्था मार्फत् गाउँमै पहिलो चोटी एम्बुलेन्स भित्र्याए। शिक्षामा काम गरे र स्वास्थ्य शिविर चलाए।
हेर्नुहोस् भिडियो
नालाङ (१३५० मिटर) गाउँ, हाल सिद्धलेक गाउँपालिका, धादिङमा पर्छ। डाँडाबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लाङटाङदेखि गौरीशंकर हिमालसम्मको लामो लर्कन देखिन्छ। साथै धादिङका गाउँबेसी उस्तै मनमोहक देखिन्छन्।
नलाङमा क्षेत्रि, ब्राहमण, नेवार, गुरुङ, मगर, दलित मिलेर बसेका छन्। यस क्षेत्रमा खिरे गाउँ, पात्ले, आमकोट, फले, ठाँटि लगायतका गाउँ छन्। विहान उठ्नेवित्तिकै हिमालतिर आँखा परे। हामीले सूर्योदयको दृश्य खिच्यौं। बिस्तारै आकास खुल्दै गयो। २२० डिग्रि हिमालको दृश्य। हामीले तस्बिर खिचिरह्यौं, क्लिक! क्लिक! क्लिक!
हामीलाई मेघराज मामाले सिद्ध लेकमा पु¥याए। लेक (१५५० मि.मा सिद्ध बाबाको मन्दिर रहेछ। हामीले दर्शन गर्यौं। मन्दिर क्षेत्रबाट तल हेर्दा 'व्हाइट लेक' देखियो। कुहिरोले डम्म ढाकेको कुहिरोको ताल।
मन्दिरमा शिवरात्रीका दिन ठूलो मेला लाग्ने मामाले बताए। यहाँबाट ९ वटा जिल्ला देखिँदो रहेछ। साथमा धादिङका सबै गाउँ पनि। कति मनोरम दृश्य,हवाईजहाजबाट देखिए जस्तो। डाँडाबाट नेचर क्याम्प झर्ने बेला हामीले तल गाँउका बारीमा लटरम्म फलेका सुन्तला टिपेर खायौं। बारीमा कोदोको बाला लटरम्म थिए। लालुपाते फुलेर राताम्मे थियो।
काठमाडौंदेखि यति नजिकको सुन्दर गन्तव्य विकेन्ड मनाउन उपयुक्त लाग्यो। मामाले राखेको नाम ‘श्रीवन नेचर क्याम्प’ साँच्चै भुःस्वर्ग रहेछ। मामाले आरामदायी रिसोर्ट चलाएका छन्। २० कोठामा एकै रात ४५ जनासम्म बस्न सक्छन्। १ रातको प्याकेज (डिनर, ब्रेकफास्ट, लञ्च र वेड) जम्मा रू ३५०० पर्छ।
शहरको कोलाहलबाट मुक्त भएर तन र मनलाई रिचार्ज गर्न काठमाडौं नजिकको गन्तव्य हो नलाङ। गाउँ घुम्न, शिद्ध लेक दर्शन गर्न र यहाँको प्राकृतिक आनन्द भरपुर लिन कम्तिमा दुई रात विताउनु बेस हुन्छ।
कसरी पुग्नेः काठमाडौं–फुर्के खोला– बैरेनी पिच बाटो ७४ किमि। बैरेनि–नलाङ कच्ची बाटो १० किमी। काठमाडौंबाट धादिङबेसी जाने बसमा गएर बैरेनीमा ओर्लने। बैरेनीबाट जिपमा उकालिने।
सम्पर्कः मेघराज नहर्की – ९८५१०२९८७४ , सन्देश नहर्की – ९८०३३४९४६९
हेर्नुहोस् तस्बिरहरू